लयमा फर्किदै बजारः लगानीकर्तामा उत्साह आउँदा लघुवित्तमा चमक, अबको यात्रा कस्तो ?

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार देखिएको छ । असार मसान्तको दबाबले केही समय स्थिर रहेको नेप्से सूचक पछिल्ला दिनमा २६ सय विन्दु आसपास स्थिर रहँदै आएको हो ।
सस्तो मूल्यमा उपलब्ध शेयरप्रति आइतबार र सोमबार खरिदकर्ता आकर्षित भएपछि लगातात सुधार देखिएको हो । विश्लेषकहरूका अनुसार २६ सयको मनोवैज्ञानिक विन्दुले बजारलाई बाउन्स ब्याक गर्ने ठाउँ दिएको छ, यद्यपि सूचक अझै २५ सयदेखि २८ सयको दायरामै घुमिरहेको छ । लगानीकर्ताहरू भने अब बजार थप उकालो लाग्ने प्रतीक्षामा छन् ।
वर्तमान अवस्थामा बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ र ब्याजदर समेत न्यून स्तरमा रहेकोले बजारका लागि अनुकूल अवस्था बनेको छ । तर, ठूला लगानीकर्ताको संलग्नता अझै कमजोर देखिनु र फन्डामेन्टल बलिया कम्पनीहरूको मूल्यमा उछाल नआउनुमा कारोबार रकम कमजोर हुनु प्रमुख कारण हुन् ।
साथै, बैंक तथा वित्तीय संस्थामाथिको अल्पकालीन कारोबार निषेधले पनि बजारको गतिको गतिरोध निम्त्याएको छ। अब असार–साउन महिनाबाट वार्षिक वित्तीय विवरण तथा लाभांश घोषणाको लहर सुरु हुने र मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा खुकुलो हुने सम्भावनाले लगानीकर्तामा नयाँ उत्साह भरिएको छ ।
नेपाल स्कट एक्सचेञ्ज (नेप्से) ११.९९ अकंले बढेर २६३४.२७ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । माइक्रोफाइनान्सको शेयर मूल्यमा उच्च सुधार आएको छ । माइक्रोफाइनान्सको शेयर १.०४ प्रतिशतले शेयर मूल्य बढेको छ । आज बैंकिङ समूहको ०.५६ प्रतिशत, विकास बैंक समूहको ०.६६ प्रतिशत, फाइनान्स समूहको ०.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सोमबार १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनीको घटेको छ ।













