मन्त्रालय साटफेर र मन्त्रीहरु परिवर्तन छिट्टै, एमालेबाट नयाँ गृहमन्त्री को ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट स्वदेश फर्केको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेससँगको मन्त्रालय बाँडफाँड परिवर्तन गर्ने भएका छन् ।
नेपाली कांग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले सरकारमा रहेर काम गरेका मन्त्रीहरुको नजिताको आधारमा सरकारबाट फिर्ता बोलाउन सक्ने बताएका छन् । स्रोतका अनुसार नेपाली कांग्रेसबाट समेत केही मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने तयारी भइरहेको छ । त्यस्तै, एमालेबाट समेत केही मन्त्रीहरु फेरबदल हुनसक्नेछन् ।
त्यस्तै, यसअघिको सहमति अनुसार नेपाली कांग्रेसलाई अर्थ मन्त्रालय दिएर एमालेले गृहमन्त्रालय लिनेबारे प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच यसअघि नै सहमति भइसकेको जनाइएको छ ।
स्रोतका अनुसार अर्थ मन्त्रालय गृहमन्त्रालय परिवर्तन हुनेछ । नयाँ गृहमन्त्री एमालेबाट को बन्ने भन्ने चर्चा सुरु भएको छ । एमालेभित्र पुराना पुस्ताका भन्दा नयाँ पुस्ताबाट नतिजामुखी परिणाम आउने विश्वास गर्दै आएका प्रधानमन्त्री ओलीले नयाँ गृहमन्त्रीमा पदम गिरी वा महेश बर्तौला मध्ये एक रोज्न सक्ने चर्चा एमालेभित्र छ ।
त्यस्तै, मन्त्रालय साटफेर गरी कांग्रेसले पाएको अवस्थामा नयाँ अर्थमन्त्रीको रुपमा गगन थापाको प्रबल सम्भावना रहेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट चुनौति बढिरहेको बेला नतिजामुखी र काम गर्ने सक्ने व्यक्तिहरुलाई मन्त्रिमण्डलमा राखेर अघि बढाउने तयारी भइरहेको छ ।
स्रोतका अनुसार एमालेका खरो बक्ताको परिचय बनाएका योगेश भट्टराई पाथिभरा काण्डमा जोडिएका कारण फेरि पनि मन्त्री बन्ने सम्भावना न्यून रहेको छ ।













