जगदम्बा मोटर्सले टीभीएसको नयाँ जुपिटर स्कुटर नेपाली बजारमा ल्याउँदै

१७ असार २०८२, मंगलवार १०:५२

काठमाडौँ ।  जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ। भारतको लोकप्रिय टू–ह्वीलर ब्रान्ड टीभीएसको नेपालका लागि आधिकारिक वितरक कम्पनीले यो पटक पूर्णरूपमा नयाँ डिजाइन र फिचरमा आधारित ‘जुपिटर ११३’ स्कुटर ल्याउन लागेको हो। कम्पनीका अनुसार, जुलाइको पहिलो साता यस स्कुटरलाई सार्वजनिक गरिनेछ।

टीभीएसले यसअघि नेपाली बजारमा उपलब्ध गराउँदै आएको जुपिटर ११० स्कुटर केही समयअघि बन्द गरिएको थियो। अब त्यही मोडलको नयाँ संस्करणको रूपमा ११३ सीसी क्षमताको इन्जिनसहितको जुपिटर स्कुटर बिक्रीमा ल्याउने तयारी गरिएको हो। कम्पनीको दाबी अनुसार, नयाँ जुपिटर पुरानो संस्करणको तुलनामा डिजाइन, प्रविधि र प्रयोगअनुभवका हिसाबले धेरै अगाडि रहेको छ।

सहरी यात्रुलाई मध्यनजर गरेर विकसित गरिएको यस स्कुटरमा सुरुवातदेखि नै नयाँपन देखिन्छ। फ्रन्टमा दिइएको कनेक्टेड एलईडी डीआरएलले स्कुटरलाई प्रिमियम लुक दिएको छ भने पछाडि पनि टर्न इन्डिकेटरमा नै समेटिएको ब्रेक लाइट डिजाइनले थप आकर्षण थपेको छ। स्कुटर सुरु भएपछि बन्द गरे पनि केही सेकेन्डसम्म बत्ती बलिरहने ‘फलो मी’ एलईडी लाइट फिचर यसमा पहिलो पटक उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यसका साथै, स्कुटरमा पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ, जुन कनेक्टेड फिचरसहित आएको छ। यसले प्रयोगकर्तालाई स्मार्टफोनसँग जडान गरी सूचना आदानप्रदान गर्न सक्ने सुविधा दिन्छ। थप रूपमा, स्कुटरमा भ्वाइस कमाण्डमार्फत केही कार्यहरू गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ, जुन यो सेग्मेन्टमा दुर्लभ फिचर मानिन्छ।

इन्धन भर्ने स्थान पनि प्रयोगकर्ता मैत्री बनाइएको छ। सिट खोल्नै नपर्ने गरी स्कुटरको अगाडिको भागमै फ्युल क्याप राखिएको छ। यस्तै, बुट स्पेस पनि फराकिलो बनाइएको छ, जसमा सजिलै दुईवटा हाफ हेलमेट राख्न सकिन्छ।

प्राविधिक पक्षमा हेर्दा, नयाँ जुपिटरमा ११३ सीसी क्षमताको, सिंगल सिलिन्डर, फोर स्ट्रोक र टू भल्भ इन्जिन राखिएको छ। यो इन्जिनले ६ हजार ५ सय आरपीएममा अधिकतम ८ हर्षपावर र ५ हजार आरपीएममा ९.२ एनएम टर्क उत्पादन गर्न सक्ने क्षमता राख्दछ। यस्तो इन्जिन संरचना दैनिक सहरिया प्रयोगकर्ताका लागि पर्याप्त शक्ति र सहजता दिने खालको छ।

जगदम्बा मोटर्सले हालसम्म मूल्यबारे आधिकारिक घोषणा नगरे पनि बजार स्रोतले दिएको अनुमान अनुसार नयाँ जुपिटरको मूल्य करिब २ लाख ५० हजार रुपैयाँ हाराहारीमा रहनेछ। कम्पनीले मूल्य र अफरहरू स्कुटर सार्वजनिक भएपछि मात्र आधिकारिक रूपमा सार्वजनिक गर्नेछ।

टीभीएस ब्रान्डले नेपाली बजारमा अघिल्लो दशकदेखि स्कुटर सेग्मेन्टमा राम्रो उपस्थिति जमाउँदै आएको छ। यसको ‘नटर्क’ र ‘जुपिटर’ मोडलले प्रयोगकर्ताको विश्वास जितेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*