बतास परिवारको लगानीमा रहेको ‘बतास ट्रयाक्टर’ले गर्यो ९ महिनामै ४४ करोड आम्दानी

काठमाडौँ । बतास अर्गनाइजेशनद्वारा सञ्चालित बतास ट्रयाक्टरको आम्दानीमा उल्लेख्य सुधार आएको छ । आर्थिक वर्ष २०८०।०८१ मा २६ करोड २० लाख रुपैयाँमा झरेको आम्दानी चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो नौ महिनामै ४४ करोड ३० लाख रुपैयाँ पुगेको हो ।
यसअघि २०७८।०७९ मा कम्पनीले ७५ करोड रुपैयाँ आम्दानी गरेको थियो भने २०७९। ०८० मा सानो वृद्धि हुँदै ७६ करोड २० लाख पुगेको थियो ।
सन् २०१६ मा स्थापना भएको बतास ट्रयाक्टर क्याटरपिलर निर्माण उपकरण, गोदरेज उपकरण र प्रोपाल ब्रान्डका उत्पादनको आधिकारिक बिक्रेता हो । कम्पनीले सन् २०१७ देखि नेपालमा क्याटरपिलरको निर्माण उपकरणको बिक्री सुरु गरेको थियो । जनवरी २०१८ मा गोदरेज उपकरणको डिलरशिप पाएको बतासले २०२० को जुनमा प्रोपाल ब्रान्डको वितरण अधिकारसमेत प्राप्त गर्दै व्यापार विस्तार गरेको हो ।
बतास समूहको अंगका रूपमा रहेको बतास ट्रयाक्टरमा प्रमुख शेयरधारक बतास परिवारका आनन्दराज बतास र शान्तराज बतास छन् । कम्पनीको झन्डै ६७ प्रतिशत शेयर बतास परिवारकै स्वामित्वमा रहेको छ । दुई दशकभन्दा लामो समयदेखि अटोमोटिभ क्षेत्रमा संलग्न बतास समूहको अनुभव र लगानीले ट्रयाक्टर्सलाई तुलनात्मक रूपमा छिटो स्थापित गराएको देखिन्छ ।

कुल कर्जा र नेटवर्थको अनुपात ३.७ देखि ४ गुणासम्म रहेको छ, जसलाई दीर्घकालीन हिसाबले सुधार गर्नुपर्ने देखिन्छ । ब्याज कभरेज अनुपात कमजोर रहेको अवस्था छ तर गैर–सञ्चालन आम्दानीमार्फत त्यसमा केही राहत मिलेको छ । नगद प्रवाह व्यवस्थापनमा भने कम्पनी सशक्त देखिएको छ ।
नेपालमा कम्पनीले विश्वस्तरीय तीन ब्रान्डका उपकरण बिक्री गर्दै आएको छ । क्याटरपिलरको निर्माण उपकरण टिकाउपन र गुणस्तरले परिचित छन् । गोदरेज र प्रोपाल ब्रान्डका उत्पादनले भने निर्माण क्षेत्रमा विविध विकल्प थपेका छन् । यी उपकरणले पूर्वाधार विकास, भवन तथा सडक निर्माण, खानी, कृषि क्षेत्रजस्ता क्षेत्रमा कार्यक्षमता र आधुनिकता थपेका छन् ।













