विकास हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

१८ असार २०८२, बुधबार ०६:०५

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आज असार १८ गतेदेखि आवेदन खुलेको छ।

कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रथम चरणमा आईपीओ निष्कासन गरेर असार ५ गते बाँडफाँड समेत गरिसकेकोले अब दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कम्पनीको आफ्नो जारी पूँजीको ५९ प्रतिशतले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति पाएको हो। जसमध्ये कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ९ लाख ९ हजार १०१ कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ बाँडफाँड गरेको हो।

अब कम्पनीले बाँकी रहेको आईपीओमध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई र ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको २९ लख ४२ हजार ७६० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो।

यसमा लगानीकर्ताले आवेदन दिंदा न्यूनतम १० कित्ता आईपीओका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

निष्कासन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा असार ३२ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ। यद्यपि हाल आईपीओमा लगानीकर्ताले देखाएको चासो र पर्ने गरेको आवेदनलाई समेत हेर्दा असार २२ गतेभित्रै पर्याप्त आवेदन परिसक्ने निश्चित जस्तै छ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका साथै सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत् आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*