मुख्यसचिव अर्याल आफै अनुगमनमा

काठमाडौं । सरकारले सेवाप्रवाहमा देखिएका समस्या पहिचान र सुधारका लागि महत्वपूर्ण पहल गर्दै आएको छ। यसै क्रममा मुख्यसचिव एकनारायण अर्यालले मंगलबार आफैँ वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतका विभिन्न सरकारी निकायहरूको अनुगमन गरेका हुन् ।
अनुगमनको क्रममा मुख्यसचिव अर्यालले ती विभागहरूमा पुगेर सेवा प्रवाहका चुनौतीहरूबारे जानकारी लिए। उनले अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सेवाग्राहीले सेवा पाउन अझै सास्ती खेप्नुपरेको जानकारी पाएको र सुधार्नुपर्ने धेरै कुरा रहेको बताए।
‘अनुगमन गर्दा केही समस्या फिल्डमा देखियो। अहिले हामीले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन् त्यसलाई हामी एकीकृत गर्न लागेका छौँ। यसलाई इन्ट्रिग्रेटेड गरेर सबैलाई व्यवस्थीत गर्दैछौँ उनले भने अहिले केके समस्या रहेछन्, केके सुधार्नु पर्ने रहेछ, अहिले डेलिभरि कस्तो भइरहेको रहेछ भनेर अनुगमन गरिएको हो। अनुगमनमा नागरिकले धेरै समस्या भोगेको पाइयो।’
उनले तीन तहका सरकारबीच समन्वयको अभावले कतिपय सेवाहरूमा समस्या देखा परेको बताए । समन्वयको अभावले नागरिकले दुःख भोग्नु परेको बताउँदै तत्काल समस्या समाधानका लागि टेलिफोनमार्फत निर्देशन समेत दिइएको अर्यालतको भनाइ रहेको छ ।
मुख्यसचिवले आगामी वर्षमा प्रणाली सुधारका लागि थप काम अघि बढाइने बताए।













