अख्तियार प्रमुख सहितका संवैधानिक नियुक्ति विवादको फैसला आज

काठमाडौं । साढे चार वर्ष पहिले तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत् नियुक्ति गरेको अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहितका ५२ जना संवैधानिक पदाधिकारीको विवादमा आज सर्वाेच्च अदालतले फैसला गर्दैछ।
सर्वोच्चमा अधिवक्ता ओम प्रकाश अर्याल सहितले दायर गरेको छुट्टाछुट्टै रिटको आज अन्तिम निर्णय सुनाउने मिति तोकिएको छ। यसअघि तोकिएको मितिमा निर्णय सुनाउन नसकेको सर्वोच्चले आज पनि निर्णय सुनाउने मिति सार्छ वा निर्णय सुनाउछ हेर्न बाँकी छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउनेछ। उक्त इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्। गत जेठ १ गते अन्तिम पटक सुनुवाइ गरेर जेठ २८ गते निर्णय सुनाउने मिति तोकिएकोमा त्यसलाई सारिएको थियो।
तत्कालीन सरकारले अध्यादेशमार्फत् ५८ पदमा नियुक्ति सिफारिस गरेको भोलिपल्टैदेखि अध्यादेशको वैधतामाथि प्रश्न उठाउँदै सर्वाेच्चमा १५ वटा रिट परेको थियो। सर्वाेच्चले लगाउमा रहेका १५ वटै रिटमा गत माघ ३०, फागुन २१ र चैत ६ गते सुनुवाइ गरेको थियो। त्यसपछि वैशाख ३, ७, ८, ९, १०, २८ र ३० गते हेर्दाहेर्दैमा राखेर सुनुवाइ सकेको थियो।











