एमजीको विन्डसर ईभी: आकर्षक डिजाइन, शक्तिशाली मोटर र प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा प्रवेश

१८ असार २०८२, बुधबार १२:२७

काठमाडौँ । एमजी ब्रान्डको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजीको नयाँ विद्युतीय गाडी ‘विन्डसर ईभी’ नेपाली बजारमा भित्र्याएको छ। भारतमै उत्पादन गरिएको यो मोडल एमजीले तयार पारेको दोस्रो भारतीय निर्माण विद्युतीय गाडी हो।

यसअघि कम्पनीले कोमेट मिनी ईभी नेपाली बजारमा ल्याइसकेको थियो। भारतमा राम्रो बिक्री हासिल गरिसकेको विन्डसर अब नेपालमा बीवाइडीको चर्चित डल्फिन मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने रणनीतिसहित आएको छ।

विन्डसर ईभी दुई भेरियन्ट एक्सक्लूसिभ र इसेन्समा उपलब्ध छ। एक्सक्लूसिभको मूल्य ३९ लाख ४९ हजार रुपैयाँ र इसेन्सको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ हुने अनुमान गरीएको छ।

प्रदर्शनका हिसाबले पनि विन्डसर ईभी निकै शक्तिशाली र प्रभावशाली देखिन्छ। यसमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एकपटक फुल चार्जमा ३३१ किलोमिटरसम्मको यात्रा गर्न सक्छ। कम्पनीको सहरी परीक्षण अनुसार यसको दायरा ३२७ किलोमिटरसम्म देखिएको छ। १०० किलोवाट क्षमताको मोटरले २०० एनएमको टर्क उत्पादन गर्न सक्छ, जसले दैनिक यात्रा र लामो दूरी दुबैका लागि उपयोगी बनाउँछ।

डिजाइनको पक्षमा पनि विन्डसर ईभीले प्रिमियम गाडीको अनुभव दिन्छ। गाडीमा प्रयोग गरिएको फ्लस डोर ह्याण्डल, क्लिन सर्फेस डिजाइन, एलईडी हेडलाइट तथा टेललाइट र अगाडिको ठूलो एज डिजाइनले यसलाई भिन्न पहिचान दिएको छ। १८ इन्चको आकर्षक अलोय ह्वीलले गाडीलाई स्पोर्टी लुक प्रदान गरेको छ।

सुविधाका हिसाबले विन्डसर ईभी नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरूमध्ये एक प्रतिस्पर्धी मोडल बन्ने संकेत देखिन्छ। वायरलेस चार्जर, अटोमेटिक एसी, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, र ३६० डिग्री क्यामेरा जस्ता विशेषताहरू यसमा समेटिएका छन्। अगाडि रहेका सिटहरू इलेक्ट्रिकली एड्जस्ट गर्न मिल्ने छन् भने पछाडिका सिट १३५ डिग्रीसम्म झुकाउन सकिन्छ, जसले लामो यात्रामा आरामदायी अनुभव दिनेछ।

इन्टेरियरमा पनि आधुनिकता मिसाइएको छ। पानारोमिक ग्लास रुफले केबिनलाई फराकिलो र खुल्ला महसुस गराउँछ भने ८.८ इन्चको फुल एलसीडी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल टचस्क्रिन स्क्रिनले प्रयोगकर्तालाई स्मार्ट र टेक्नोलोजीमैत्री अनुभव प्रदान गर्छ।

सुरक्षाको पक्षमा समेत कम्पनीले कुनै सम्झौता नगरेको देखिन्छ। ६ वटा एयरब्याग र अन्य सेफ्टी फिचरहरू सहित विन्डसर ईभी नेपाली ग्राहकका लागि सुरक्षित विकल्प बन्न सक्ने देखिन्छ।

यो गाडी आज नेपालमा औपचारिक रुपमा सार्वजनिक हुँदैछ र त्यसपश्चात बिक्री सुरु हुने तयारीमा छ। नेपाली अटो बजारमा हाल विस्तार भइरहेको विद्युतीय गाडीको प्रतिस्पर्धामा विन्डसर ईभीले नयाँ उचाइ कायम गर्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*