उच्च ऋणमा थिचिएको स्वेत गंगा हाइड्रोपावर, रेटिङ फेरि पनि जोखिमपूर्ण स्तरमै

काठमाडौँ । स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आर्थिक अवस्था अझै पनि कमजोर रहेको पुष्टि गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडले जारीकर्ता रेटिङ तथा बैंक सुविधाको रेटिङलाई यथावत् राखेको छ। कम्पनीलाई पुनः ‘केयर-एनपी डबल बी ’ मा रेटिङ दिइएको छ, जुन नेपालमा वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने मामलामा मध्यम जोखिम जनाउने कमजोर रेटिङ हो।
कम्पनीको दीर्घकालीन बैंक सुविधामा पनि ‘केयर-एनपी डबल बी’ र छोटो अवधिका सुविधामा ‘केयर-एनपी ए फोर’ जस्ता तुलनात्मक रुपमा कमजोर रेटिङहरू कायम गरिएको छ। स्वेत गंगाको कुल बैंक सुविधा ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी छ, तर यस्तो ठुलो कर्जासँगै कम्पनीको पूँजी संरचना अत्यन्तै कमजोर र अत्यधिक ऋणमा आधारित देखिएको छ।
सबैभन्दा चिन्ताजनक पक्ष भनेको कम्पनीले पुँजीको ठूलो हिस्सा ऋणबाट व्यवस्थापन गरेको हो, जसका कारण सुरुआती वर्षहरूमा ऋण भुक्तानीको अत्यधिक चाप पर्ने देखिन्छ। परियोजनाको लागत अत्यधिक भएको र यसको प्रत्यक्ष असर कम्पनीको वित्तीय सन्तुलनमा परेको रेटिङ निकायको भनाइ छ।
त्यसैगरी, स्वेत गंगा हाइड्रोपावरको उत्पादन प्रणाली नदीको बहावमा आधारित भएकाले वर्षभरि स्थायी उत्पादन सुनिश्चित छैन। जलविद्युत क्षेत्रमा जलको प्रवाहमा निर्भरता, प्राकृतिक प्रकोपहरूको जोखिम, र ब्याजदरको अस्थिरताले गर्दा कम्पनी अझै पनि उच्च जोखिममा देखिएको छ।
केयर रेटिङ्स नेपालले कम्पनीलाई २०८१/८२ को अन्त्यसम्ममा कुल ऋण ५ अर्ब १० करोड रुपैयाँभन्दा नबढाउने सर्तमा मात्रै जारीकर्ता रेटिङ कायम राखेको स्पष्ट रूपमा उल्लेख गरेको छ। यस्तो सर्त आफैमा कम्पनीको जोखिमयुक्त स्थिति झल्काउने आधार हो।
स्वेत गंगा हाइड्रोपावरको रेटिङले कम्पनीको हालको वित्तीय कमजोरी, सञ्चालन चुनौती, र आगामी दिनमा थप जोखिम उठाउनुपर्ने अवस्थालाई संकेत गरेको छ। स्थायी समाधान र रणनीतिक सुधार बिना यस्तो कम्पनीले आफ्ना दायित्वहरू समयमै तिर्ने आशा गर्नु चुनौतीपूर्ण देखिन्छ।












