जीवन बीमा कम्पनीद्वारा जेठ महिनामा ४ अर्ब १६ करोड प्रथम बीमा शुल्क आर्जन, प्रभु महालक्ष्मी–आइएमई र नेशनलको उच्च ग्रोथ

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनामा चार अर्ब १६ करोड २३ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार जेठ महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमासहित उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
कम्पनीहरुको नयाँ व्यवसाय गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा २४ दशमलव ८४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको सोही अवधिमा तीन अर्ब ३३ करोड ४१ लाख रुपैयाँको बीमा व्यवसाय गरेका थिए ।
विवरण अनुसार जेठ महिनामा पनि नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यता, गत आवको तुलनामा सरकारी कम्पनी राष्ट्रिय जीवन बीमा, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र आइएमई लाइफ आक्रामक देखिएका छन् ।
समीक्षा अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ११ वटाको बीमा व्यवसाय गत आवको तुलनामा बृद्धि भएको छ भने, तीन कम्पनीको सामान्य अंकले जेठ महिनाको नयाँ व्यवसाय घट्न पुगेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण
सरकारी कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यवसाय ८३.६१ प्रतिशतले बृद्धि भएको छ । नयाँ व्यवसाय आर्जनमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स दोस्रो स्थनामा रहेको छ । कम्पनीले गत महिनाको तुलनामा ७९.६९ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पनि नयाँ व्यवसाय भित्र्याउन आक्रामक रुपमा अघि बढिरहेको छ । कम्पनीले गत आवको तुलनामा आफ्नो नयाँ व्यवसाय ७१.३६ प्रतिशतले बढाउन सफल भएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको प्रथभ बीमा शुल्क आर्जन ४२.८८ प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४०.१६ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ३३.४४ प्रतिशत, मेट लाइफ इन्स्योरेन्सको ३२.७७ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २२.८० प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बृद्धि भएको छ ।
विवरण अनुसार जेठ महिनामा सिटिजन लाइफ इन्स्योरेन्सको २१.३० प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको १९.१० प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सको १२.३६ प्रतिशतले नयाँ व्यवसाय बृद्धि भएको छ । समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र एलआइसी नेपालको नयाँ व्यवसाय केही अंकले घट्न पुगेको छ ।













