ललितपुर महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच बीमा सम्झौता, ४० प्रतिशत प्रिमियम ललितपुर महानगरले तिर्ने

१८ असार २०८२, बुधबार १७:५०

काठमाडौं । ललितपुर महानगरले महानगरवासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ । ललितपुर महानगर र स्वास्थ्य बीमा बोर्डबीच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारी पत्रमा महानगरले महानगरवासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने उल्लेख गरेको छ ।

समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोवास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरकको सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको छ ।

ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्षअघिबाट सुरु गरेको हो । हाल बीमितले यल स्वास्थ्य केन्द्र मार्फत बीमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन् ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताए । उनले भने, ‘महानगरले महानगरवासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान विन्दु हो ।’

महर्जनका अनुसार महानगरले कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको छ । कोभिडपछि महानगरले सहयोगमा पाटन अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरेको उनले बताए ।

पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिका लागि समेत महानगरले सहयोग गरेको थियो । उनले यल स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको जानकारी दिए।

राष्ट्रिय बीमा बोर्डका रघुराज काफ्लेले बीमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बीमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित गरेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*