स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दुको निर्णयले बीमितमा अन्यौलता सिर्जना

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दुका विषयमा स्वास्थ्य बीमा बोडको निर्णयले बीमितमा अन्यौलता सिर्जना भएको छ।
प्रथम सेवा बिन्दुका विषयमा स्वास्थ्य बीमा बोर्डले हालै जारी गरेको परिपत्रले बीमितमा अन्यौल सिर्जना भएको हो ।
केही निजी तथा सामुदायिक स्वास्थ्य संस्था प्रथम सेवा बिन्दु रहेकोमा हटाइएको पत्रलाई फरक रुप बुझ्दा अन्योल सृजना भएको जनाइएको छ।
पत्रमा भनिएको छ, स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) तथा नियमावली, २०७५ (प्रथम संशोधन) अनुसार अबदेखि प्रथम सेवा विन्दु केवल सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरिएको छ। सोहीअनुसार, हालसम्म प्रथम सेवा विन्दुका रूपमा सञ्चालनमा रहेका सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूको मान्यता २०७२ श्रावण १ गतेदेखि हटाइने भएको छ।ु
तर, धेरैले प्रथम सेवा बिन्दु भन्ने नै हटेर रिफर आवश्यक नपर्ने निर्णय भएको रुपमा बुझेका छन्। त्यहीअनुसार पत्र सामाजिक सञ्जालमा सेयर गरिएका छन्।
सरकारले स्वास्थ्य बीमा नियमावली (पहिलो संशोधन)मा उपदफा ६ थपेको छ। जहाँ प्रथम सेवा बिन्दु भन्नाले सरकारी स्वास्थ्य संस्था भन्ने बुझ्नुपर्नेछ भन्ने उल्लेख छ। स्वास्थ्य बीमा ऐनमा पनि सरकारी स्वास्थ्य संस्था नै प्रथम सेवा बिन्दु रहने प्रावधान छ ।
तर, यसअघि बोर्डले केही सामुदायिक स्वास्थ्य संस्थालाई पनि प्रथम सेवा बिन्दु मानेको थियो। ती धुलिखेल अस्पताल, बयलापाटा अस्पताल, आम्दा अस्पताल, चौरजहारी अस्पताल थिए। तर, साउन १ गतेदेखि ती अस्पताल प्रथम सेवा बिन्दु नरहने भएका छन्।
आमजनमा अन्योल सृजना भएको भन्दै यसरी तोकेरै पत्र सार्वजनिक गर्ने तयारी समेत बोर्डले गरिरहेको सूचना अधिकारी विकेश मल्ल ठकुरी बताउँछन् । उनले भने, जसलाई लक्षित गरेर परिपत्र गरिएको उहाँहरुले बुझ्नुभएको छ। तर, त्यही पत्र आमजन माझ पुग्दा केही अन्योल सिर्जना भएको छ। त्यसलाई प्रस्ट पार्दैछौं।











