विनयी खोलाको पुल आजदेखि सञ्चालमा आउने, दाउन्नेको समस्या जस्ताको तस्तै

काठमाडौं । नारायणगढ–बुटवल सडक खण्डमा पर्ने दुम्किबासस्थित विनयी खोलाको पुल आजदेखि सञ्चालनमा आउने भएको छ। यो नयाँ पुल आज बिहान ११ बजेदेखि सबैखाले सवारी साधनलाई खुला गरिने सडक आयोजना पूर्वी खण्डले जानकारी दिएको छ।
यस पुलको ढलान भएको करीब चार हप्तापछि पुल नियमित रूपमा सञ्चालनमा आउने भएको हो। चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजनाबीच भएको छलफल अनुसार आजबाट पुल खुला गर्न लागिएको हो।
गत पुस २६ गते एक भारतीय मालबाहक हेभी ट्रक पार गर्न खोज्दा यो पुल भाँचिएको थियो। पुल भाँचिएपछि डाइभर्सको भरमा सवारीसाधन सञ्चालन हुँदै आएको भए तापनि बाढीले पटक पटक डाइभर्सननै बगाएको थियो।

पछिल्लो पटक असार ७ गते डाइभर्सनसँगै एउटा यात्रुबाहक बसलाई पनि बगाएपछि नयाँ डाइभर्सन नबनाएर बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको थियो। ठूला तथा मालबाहक सवारी साधन भने अलपत्र पर्ने गरेका थिए।
नयाँ पुल सञ्चालनमा आएसँगै दुम्किबासको समस्या तत्काललाई समाधान भएको छ। तर दाउन्नेको समस्या भने अझै कायमै छ। पानी परेको बेला दाउन्नेको उकालो रोड चिप्लिदा सवारीसाधनले सास्ती खेप्दै आएका छन्।
बर्खा नसकिएसम्म दाउन्नेमा बाटो विस्तारको काम नहुने भएकाले बर्खाभरी दाउन्ने हुँदै यात्रा गर्नेले अझै समस्या झेल्नुपर्ने भएको छ।











