विराटनगरका व्यवसायीले एक अर्ब ३१ करोड भ्याट छलेपछि थुनामा, अन्य फर्ममाथि पनि अनुसन्धान

काठमाडौं । विराटनगर–७ का एक हार्डवेयर व्यवसायी सौरभकुमार बियानीले नक्कली बिलको प्रयोग गर्दै तीन आर्थिक वर्षमा एक अर्ब ३१ करोड रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) छलेको पुष्टी भएपछि उनलाई मोरङ कारागारमा थुनिएको छ।
बियानीले आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ मा आफ्नो फर्ममार्फत नक्कली कारोबारी विवरण पेश गरेको उजुरीपछि आन्तरिक राजस्व कार्यालय (आराका) विराटनगरले एक महिनासम्म विस्तृत अनुसन्धान गरेको थियो।
अनुसन्धानमा बियानीले ‘न्यू सौरभ ट्रेडिङ’ र ‘बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’ नामबाट विराटनगर–३ को भट्टाचोकमा चारवटा सटरमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएको खुलेको थियो। फर्म दर्ताको पहिलो वर्ष उनले शून्य कारोबार देखाए पनि त्यसपछिका दुई वर्षमा २८ करोड र ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ।
नक्कली बिलविजक प्रयोग गरेको र भ्याट छलेको प्रमाणित भएपछि आराकाले बियानीलाई मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २३ (घ) अनुसार कारबाही प्रक्रिया अघि बढाएको हो। उनले कर रकम बराबरको धरौटी राख्न नसकेपछि उनलाई थुनुवा पूर्जी दिई मोरङ कारागार पठाइएको छ।
बियानीले बिल बनाउने र ठूलो कारोबार देखाउने क्रममा अन्य व्यक्ति तथा फर्महरूसँग मिलेमतो गरेको भन्दै आन्तरिक राजस्व कार्यालयले करीब एक दर्जन व्यावसायिक फर्म र सञ्चालकहरूमाथि पनि अनुसन्धान शुरू गरेको छ।
सुनसरीस्थित एक उद्योगबाट भएको भुक्तानी विवरणका आधारमा बियानीको नक्कली कारोबार खुल्न आएको हो। बियानीसँग आर्थिक कारोबारमा संलग्न ती फर्महरूमाथि निगरानीसाथ अनुसन्धान भइरहेको पनि जानकारी प्राप्त भएको छ।













