यस वर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुने अनुमान, इपिडिमियोलोजी महाशाखाको चेतावनी

१९ असार २०८२, बिहीबार १०:२४

काठमाडौँ । यस वर्ष नेपालमा ६० हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण फैलन सक्ने उच्च सम्भावना देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो।

कार्यक्रममा महाशाखाको किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले साउनदेखि कात्तिक अन्तिमसम्म डेंगु तीव्र गतिमा फैलने जोखिम रहेको भन्दै जनस्तरमा उच्च सतर्कता अपनाउन आग्रह गरे। उनका अनुसार हालसम्म देशका ७३ जिल्लामा झन्डै १ हजार ६ सय जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

डा. दाहालले भने, ‘संक्रमितमध्ये धेरैजसोमा लक्षण नदेखिने, डेंगु परीक्षण नगर्ने, परीक्षण गरे पनि रिपोर्ट नदिनेजस्ता कारणले वास्तविक संख्याभन्दा संक्रमितको तथ्यांक कम देखिएको छ।’

उनले संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा पुगेको जानकारी दिए। डेंगु नियन्त्रणका लागि सबैभन्दा ठूलो भूमिका स्थानीय तहको हुने भन्दै उनले स्थानीय सरकारसँग समन्वय र सहकार्य भइरहेको बताए।

डा. दाहालले जनतालाई लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने, घर वरिपरिको पानी जम्न नदिनुपर्ने र परीक्षणका लागि नजिकको स्वास्थ्य संस्थामा पुग्नुपर्ने सुझाव पनि दिए।

गत वर्ष देशभर करिब 57 हजार डेंगु संक्रमित भेटिएका थिए। त्यसैले यो वर्षको अनुमानले संक्रमण थप बढ्ने सम्भावनालाई औँल्याएको हो। स्वास्थ्यकर्मीहरूले तत्कालदेखि नै रोकथाम र जनचेतनामा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*