लयमा फर्किंदै म्युचुअल फन्ड: झन्डै ५ करोड नाफा, डेढ अर्बको लगानी वृद्धि (तथ्याङ्कसहित)

१९ असार २०८२, बिहीबार ११:२३

काठमाडौं । पछिल्लो समय पूँजी बजारमा म्युचुअल फन्डहरूले उल्लेखनीय सुधार देखाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४२ वटा म्युचुअल फन्डहरूको वित्तीय प्रतिवेदनअनुसार नाफा, प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र शेयर बजारमा गरिएको लगानी सबै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको हो ।

जेठ महिनासम्मको विवरणले फन्डहरूले अघिल्लो महिनाको तुलनामा झण्डै ५ करोड रुपैयाँ जति नाफा थप गरेका छन् । अघिल्लो समय बजारको अनिश्चितताले दबाबमा रहेका फन्डहरू अब भने क्रमशः सुधारतर्फ उन्मुख देखिएका छन् ।

एक महिनामै झण्डै डेढ अर्ब लगानी थप

जेठ महिनामा म्युचुअल फन्डहरूले शेयर बजारमा गरेको लगानी ३.२२ प्रतिशतले वृद्धि भएको छ । वैशाख महिनासम्म फन्डहरूले कुल ४१ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी लगानी गरेका थिए भने जेठको अन्त्यसम्ममा यो रकम बढेर ४३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसरी फन्डहरूले एक महिनामै १ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर थप खरिद गरेका छन् ।

सबैभन्दा ठूलो लगानी रहेको फन्ड एनआइबिएल सहभागिता फन्ड हो, जसको शेयर बजारमा ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ । त्यसपछि एनएमबि सरल बचत फन्ड इको २ अर्ब ७९ करोड रुपैयाँको लगानीसहित दोस्रो स्थानमा छ । यी दुवैले अघिल्लो महिनाको तुलनामा क्रमशः १.१६ प्रतिशत र ४.९१ प्रतिशत लगानी वृद्धि गरेका छन् ।

अन्य प्रमुख फन्डहरूमा सिद्धार्थ इक्विटी फन्डले १ अर्ब ५२ करोड, सिद्धार्थ सिष्टमेटिक स्किमले १ अर्ब ४० करोड, प्रभू सेलेक्ट फन्डले १ अर्ब ३५ करोड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रो १ अर्ब ३१ करोड रहेका छन् ।

जेठमा सबैभन्दा तीव्र रुपमा लगानी वृद्धि गर्ने फन्ड रिलायबल समृद्धि योजना रहेको छ । वैशाखमा मात्र ७७ लाख रुपैयाँ लगानी रहेको उक्त फन्डले जेठमा लगानी बढाएर १४ करोड ४४ लाख रुपैयाँ पुर्याएको छ ।

नाफामा पनि लोभलाग्दो सुधार

जेठ महिनामा अधिकांश म्युचुअल फन्डहरूको नाफा बढेको छ । सर्वाधिक नाफा कमाउने फन्ड प्रभू सेलेक्ट फन्ड हो, जसले एकै महिनामा २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन वैशाखको तुलनामा २० प्रतिशतभन्दा बढी हो ।

यसैगरी, ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१ ले २३ करोड ३४ लाख रुपैयाँ र हिमालयन ८०–२० ले २३ करोड २६ लाख रुपैयाँ नाफा कमाएका छन् । प्रभू स्मार्ट फन्डले २१ करोड १२ लाख, सिद्धार्थ इक्विटी फन्डले २० करोड ९४ लाख नाफा कमाएका छन् ।

यता, सिद्धार्थ ग्रोथ स्किम–२ ले १७ करोड १२ लाख, नबिल ब्यालेन्सड फन्ड–३ ले १६ करोड ६७ लाख, नबिल ब्यालेन्सड फन्ड–२ ले १५ करोड ५७ लाख, एनएमबि ५० ले १५ करोड ५३ लाख, र आरबिबि म्युचुअल फन्ड–१ ले १५ करोड ६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

न्याभमा औसत सुधार

प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि फन्डहरूको वित्तीय स्वास्थ्यको महत्वपूर्ण सूचक हो । जेठमा फन्डहरूको न्याभमा पनि समग्रमा सुधार देखिएको छ । वैशाखमा औसत न्याभ ११.१० रुपैयाँ थियो भने जेठमा यो बढेर ११.१९ रुपैयाँ पुगेको छ ।

सबैभन्दा उच्च न्याभ भएको फन्ड हिमालयन ८०–२० हो, जसको न्याभ १२.८२ रुपैयाँ छ । त्यसपछि प्रभू स्मार्ट फन्ड (१२.७८ रुपैयाँ), प्रभू सेलेक्ट फन्ड (१२.७४), एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रो (१२.३८) र ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१ (१२.३५) छन् ।

२० वटा फन्डको न्याभ ११ रुपैयाँभन्दा माथि छ भने १५ वटा फन्डको न्याभ १० रुपैयाँभन्दा बढी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*