पावर समिट २०२५ काठमाडौंमाः २८ हजार मेगावाट उत्पादनको मिसनसहित ऊर्जा हब बनाउने दाबी

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को आयोजनामा ‘पावर समिट २०२५’ आगामी असोज १ र २ गते काठमाडौंमा हुने भएको छ । ‘मिसन २८,५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ नाराका साथ आयोजना गर्न लागिएको यो सम्मेलन नेपालको ऊर्जा क्षेत्रको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हुने इप्पानले जनाएको छ ।
नेपालको कुल ऊर्जा उत्पादन क्षमतामध्ये ८० प्रतिशतभन्दा बढी निजी क्षेत्रको योगदान रहेको छ । बहुदलीय प्रजातन्त्रपछि निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी गर्न खुला गरिएसँगै हालसम्म ३६०२ मेगावाट उत्पादन क्षमतामध्ये २९०० मेगावाट उत्पादन निजी क्षेत्रबाट भएको छ । यो उपलब्धि हासिल गर्न निजी क्षेत्रले २५ वर्षमा झन्डै १३ खर्ब रुपैयाँ लगानी गरिसकेको छ भने आगामी दिनमा ५० खर्ब रुपैयाँ बराबरको लगानी गर्न तम्सिएको छ ।
हाल निजी क्षेत्रकै अगुवाइमा ४२०० मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् भने ४१०० मेगावाटका आयोजनाहरू विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न गरी वित्तीय व्यवस्थापनको पर्खाइमा छन् । यस्तै, सरकारले सार्वजनिक गरेको ऊर्जा विकास मार्गचित्र–२०८१ अनुसार आगामी १० वर्षमा थप २५ हजार मेगावाट उत्पादन गर्ने योजना अघि सारिएको छ ।
यसै सन्दर्भमा आयोजना हुन लागेको ‘पावर समिट २०२५’ नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व, नेपालस्थित भारतीय दूतावासको देशीय साझेदारी, साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, कम्पनी र निकायहरूको सहभागितामा हुने भएको हो । इप्पानले २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ मा सफलतापूर्वक आठ संस्करण सम्पन्न गरिसकेको छ भने यो नवौं संस्करण हुनेछ ।
समिटमा नेपालका प्रधानमन्त्री, विभिन्न देशका विशिष्ट व्यक्तित्व, विज्ञ, नीति निर्माता, सरकारी अधिकारी, विकास साझेदार, निजी क्षेत्र, परामर्शदाता कम्पनी, निर्माण व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ । कुल सहभागिता एक हजार भन्दा बढी हुने अनुमान गरिएको छ ।
समिटले ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएको हरित र स्वच्छ ऊर्जा उत्पादन, विद्युत र कार्बन व्यापार, नवीन वित्तीय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधार विस्तार, नेट जिरो इमिसन लक्ष्य, दिगो र समावेशी ऊर्जा विकास लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा नीतिगत बहस गर्नेछ । साथै, जलवायु परिवर्तनका असर र न्यूनीकरण, प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापन, पूर्वाधार निर्माण, ऊर्जा खपतको विस्तार, नीति निर्माणका आवश्यक पहलुहरूमा पनि समिटमा गहिरो छलफल हुने इप्पानले जनाएको छ ।
समिटले नेपाललाई हरित ऊर्जा विकासकर्ता राष्ट्रका रूपमा चिनाउने र क्षेत्रीय ऊर्जा बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ । नेपाल तथा अन्य मित्र राष्ट्रका अनुभव, अभ्यास र सफलताबाट प्रेरणा लिएर ठोस नीति तथा रणनीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।













