डोल्पामा अभिलेखमै नभएको विद्यालय देखाएर साढे ७ लाख हिनामिना, ४ जनाविरुद्ध मुद्दा दायर

१९ असार २०८२, बिहीबार १५:५४

काठमाडौँ । डोल्पा जिल्लाको तत्कालीन दुनै गाविस वडा नं. २ र ३ मा अवस्थित नरहेको विद्यालयको नाममा योजना पारेर सरकारी रकम हिनामिना गरिएको पुष्टि भएपछि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ‘दुर्गा प्राथमिक विद्यालय, तिप्ला’ नामक विद्यालय कुनै पनि बेला सम्बन्धित वडाहरूमा सञ्चालनमा नरहेको पुष्टि भएको छ। आयोगको स्थलगत अनुगमन तथा जिल्ला शिक्षा कार्यालय, डोल्पाको पत्रबाट समेत सो क्षेत्रका साविक दुनै गाविस वडा नं. २ र ३ मा हालसम्म दुर्गा प्रा.वि. नामक कुनै विद्यालय नरहेको, त्यहाँ केवल श्री लालिगुँरास आधारभूत विद्यालय मात्र रहेको देखिएको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०६७/०६८ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट सो नाममा २ कोठे विद्यालय भवन निर्माणको लागि ७ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको थियो। तर, विद्यालय नै नरहेको स्थानमा उपभोक्ता समिति गठन गराई, विद्यालय भवन बनेको झुट्टा विवरणसहित नक्कली कागजात पेश गरेर रकम भुक्तानी गरिएको पुष्टि भएको छ।

उक्त कार्यमा संलग्न रहेका तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले उनीहरूलाई मिलेमतोमा काल्पनिक विद्यालय खडा गरी सरकारी रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही गर्न माग गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*