फेक सरकारी योजना बनाएर भ्रष्टाचार गर्ने अख्तियारको फन्दामा, विशेष अदालनमा चल्यो मुद्दा

१९ असार २०८२, बिहीबार १५:५६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुदै नभएको विद्यालयको नाममा योजना बनाई भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

डोल्पाको तत्कालीन दुनै गाविसस्थित दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा विद्यालय भवन निर्माणको योजना बनाएर ७ लाख ६० हजार रुपैयाँ रकम हिनामिना गरेको अभियोगमा अख्तियारले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालय नामको कुनै पनि विद्यालय त्यहाँ हालसम्म पनि सञ्चालनमा नरहेको, त्यही क्षेत्रका साविक वडामा श्री लालिगुँरास आधारभूत विद्यालय मात्र रहेको तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ। शिक्षा कार्यालय र प्राविधिक टोलीको स्थलगत अनुगमन तथा प्रमाण सङ्कलनबाट उक्त विद्यालय काल्पनिक रहेको प्रमाणित भएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

सोही काल्पनिक विद्यालयको नाममा उपभोक्ता समिति गठन गरी निर्माण खर्च देखाएर तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले आपसी मिलेमतोमा झुटा कागजात तयार पारी योजना लागू गरेको आयोगको दाबी छ।

उनीहरूले दुर्गा प्रा.वि.का नाममा जस्ता छाना र दुई कोठे भवन बनाएको झुट्टा विवरण प्रस्तुत गरी सरकारी कोषबाट रकम भुक्तानी लिएको पाइएको हो। चारै जनाविरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


 

प्रेस विज्ञप्ति:- मिति २०८२।०३।१९ गते।
——————————————
जिल्ला डोल्पा तत्कालीन दुनै गा.वि.स. २ र ३ का कुनै पनि वडा र बस्तीमा नरहेको विद्यालय दुर्गा प्रा.वि. तिप्लाको नाममा योजना पारेको तर विद्यालय भवन नबनाई रकम अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला डोल्पा, दुनै गा.वि.स. वडा नं. २ र ३ तिप्लामा दुर्गा प्राथमिक विद्यालयको नामबाट हालसम्म कुनै पनि विद्यालय सञ्चालनमा नरहेको, जिल्ला डोल्पा ठूलीभेरी नगरपालिका वडा नं. ४ साविक दुनै गा.वि.स. वडा नं. २ र ३ मा एउटै मात्र श्री लालिगुँरास आधारभूत विद्यालय रहेको, बिद्यालय निर्माणको लागि आ.ब. २०६७।०६८ मा शान्ति तथा पुननिर्माण मन्त्रालयबाट कुनै पनि रकम नआएको र भवन पनि नबनेको भन्ने व्यहोराको जिल्ला शिक्षा कार्यालय, डोल्पाको पत्रबाट देखिन आएको र जिल्ला डोल्पा ठूलीभेरी नगरपालिका वडा नं. ०४ साविक दुनै गा.वि.स. वडा नं. २ र ३ मा श्री लालिगुँरास आधारभूत विद्यालय मात्रै भएको, दुर्गा प्रा.वि.को नामले हालसम्म कुनै पनि विद्यालय नभएको भन्ने व्यहोराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्राविधिक टोलीले गरेको स्थलगत मुचुल्का समेतबाट देखिएको हुँदा आ.व. २०६७/०६८ मा जिल्ला डोल्पा साविकको दुनै गा.वि.स. वडा नं. २ र ३ हाल ठूलीभेरी नगरपालिका वडा नं. ४ तिप्लास्थित काल्पनिक विद्यालय दुर्गा प्राथमिक विद्यालय खडा गरी गराई जिल्ला प्राविधिक कार्यालय, दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढासमेतले आपसी मिलेमतो तथा योजनामा जिल्ला डोल्पा, दुनै गा.वि.स. वडा नं. २ र ३ मा विद्यालय नै नभएको दुर्गा प्राथमिक विद्यालयको नाममा २ कोठे भवन निर्माणको लागि रु.७,६०,०००।- रकम विनियोजन गरी काल्पनिक उपभोक्ता समिति गठन गरे गराएको देखाई जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली जस्ता छानासहितको २ कोठे भवन निर्माण गरेको भनी झुट्टा तथा नक्कली कागजात तयार गरी गराई चेकमार्फत रु.७,६०,०००।- भुक्तानी दिए लिएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न प्रतिवादीहरूउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। क्रमश.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*