प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

२० असार २०८२, शुक्रबार ०७:३३

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली एक साताको स्पेन भ्रमण सकेर आज स्वदेश फर्कंदै छन्। उनी असार १४ गते संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन गएका थिए।

स्पेन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले विभिन्न उच्चस्तरीय बैठक र सम्मेलनहरूमा भाग लिएका छन्। असार १५ गते नागरिक समाजले आयोजना गरेको समापन सत्रमा सम्बोधन गर्दा उनले नागरिक समाजको भूमिकाबारे बोलेका थिए। त्यही दिन स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग दुईदेशीय भेटवार्ता गर्दै भावी सहकार्यबारे छलफल पनि गरेका थिए।

असार १६ गते अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सहभागी भएपछि गेट्स फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ओलीले विकास सहयोगको भविष्यबारे सम्बोधन गरेका थिए। सोही दिन एलडिसी अर्थात् अल्पविकसित राष्ट्रहरूको अध्यक्षका रूपमा सम्मेलनलाई समेत सम्बोधन गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका उच्च अधिकारीहरूसँग भेटघाट गरेका छन्। त्यहाँ उनले जलवायु वित्त, पानी तथा सरसफाइ र अन्तर्राष्ट्रिय विकास सहयोगका विषयमा आफ्ना धारणा राखेका थिए।

असार १८ गते प्रधानमन्त्री ओली म्याड्रिड पुगे र ‘नेपाल–स्पेन व्यापार तथा लगानी प्रवद्र्धन साँझ’ कार्यक्रममा सहभागी भएका थिए। त्यही दिन उनले मेड्रिडस्थित प्रादो राष्ट्रिय संग्रहालय अवलोकन गरे र नेपाली दूतावासको निरीक्षणसमेत गरेका थिए।

प्रधानमन्त्री ओली दोहा हुँदै आज शुक्रबार अपराह्न काठमाडौं आइपुग्ने कार्यक्रम छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*