बीमा क्षेत्रले बढाउँदै रोजगारी, ३७ कम्पनीमा साढे १२ हजार कर्मचारी आवद्ध

२२ असार २०८२, आईतवार १३:१३

काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षण गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल १२ हजारबढी मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता अभिबृद्धि तालिमले पनि आम नागरिकहरु बीमाको रोजगारीप्रति आकर्षित बन्दै गएका हुन् ।

समग्रमा बीमा कम्पनीहरू धेरै रोजगार वृद्धि गर्ने क्षेत्रमा पर्छ । तर, पछिल्लो समय आर्थिक सङ्कट तथा मर्जरका कारण पनि यस क्षेत्रबाट उल्लेख्य रूपमा रोजगारी वृद्धि हुन भने थिएन । यद्यपि, क्रमिक रूपमा सुधार भने देखिएको छ । पछिल्लो समय बीमा कम्पनीहरूको शाखा सञ्जाल तथा कर्मचारीको सङ्ख्या पनि बढ्दै गएको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेका कुल ३७ वटा बीमा कम्पनीहरुमा कुल १२ हजार २३४ जना कर्मचारीहरु बीमा कम्पनीमा कार्यरत रही आम नागरिकहरुलाई बीमा सेवा प्रदान गरीरहेका छन् । जसमा जीवन बीमा कम्पनीमा ६ हजार १११ जना र निर्जीवन बीमा कम्पनीमा ६ हजार १२३ जना कर्मचारी कार्यरत रहेका छन् ।

पछिल्लो केही वर्षयता नेपालमा बीमाको दायरा बढ्दै गएको छ । सरकार र नियमनकारी निकाय बीमा प्राधिकरणले देशैभरीका स्थानीय तहहरुमा बीमा सचेतना कार्याक्रम सञ्चालन तथा शैक्षिक जनचेतना बृद्धि भएसँगै बीमाको दायरा बढ्दै गएको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा बीमाको दायरामा आएको (म्यादी र लघु म्यादी जीवन बीमासहित) को जनसंख्या सामान्य अंकले बढेको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या ४३.९५ प्रतिशत रहेको थियो भने समीक्षा अवधिमा बीमाको दायरामा आएको जनसंख्या सामान्य अंकले बृद्धि भएर ४७.९५ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा नेपालमा कुल एक करोेड ५४ लाख ९८ हजार सक्रिय बीमालेख रहेका छन् भने कुल जारी जीवन बीमालेखको संख्या ६१ लाख ८७ हजार रहेका छन् । साथै यस अवधिमा कुल निर्जीवन बीमालेख २९ लाख ३६ हजार रहेका छन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा सञ्चालित बीमा कम्पनीहरुले करिव दुई खर्ब रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । प्राधिकरणका अनुसार जीवन, निर्जीवन र लघु बीमा कम्पनीहरुले यस अवधिमा कुल एक खर्ब ९५ अर्ब चार करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । उक्त बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा १४.५१ प्रतिशतले बढी रहेको छ ।

यस अवधिसम्म नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले एक खर्ब ५५ अर्ब १५ करोड रुपैयाँको व्यवसाय गरेका छन् । जसमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन एक खर्ब १९ अर्ब ९८ करोड रुपैयाँ र प्रथम बीमा शुल्क आर्जन ३५ अर्ब १७ करोड रुपैयाँ रहेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ३९ अर्ब ८८ करोड रहेको छ ।

बीमा कम्पनीहरुले बीमा सेवा विस्तार तथा आफ्नो व्यवसाय बृद्धिको लागि शाखा कार्यालयमा आक्रामक बन्दै गएका छन् । यस अवधिमा नेपालमा तीन हजार सात वटा प्रादेशिक–शाखा–उपशाखाहरुको संख्या रहेको छ । जसमा जीवन बीमा कम्पनीका १ हजार ८५० वटा र निर्जीवन बीमा कम्पनीका १ हजार १५७ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।

सरकार र सरकारी निकायहरुले समेत बीमालाई प्राथमिकताका साथ राखेको पाइन्छ । देशमा भएको आर्थिक, शैक्षिक तथा वित्तीय जनचेतना बढेसँगै नागरिकहरुले जीवन तथा निर्जीवन बीमा गर्दै आएका छन् । सरकारले सवारी साधनमा अनिवार्य बीमा गर्ने बाध्यकारी नियम ल्याएको कारणले पनि बीमाको दायरा बृद्धिमा टेवा पुगेको सरोकारवाला बताउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*