२०४२ सालमा सम्भाव्यता अध्ययन, ०४८ सालमा शिलान्यास, सांसद कार्चेनको चर्को दवावपछि काठमाडौंसँग जोडियो हुम्ला

काठमाडौं । पश्चिम नेपालको बिकट कर्णालीलाई देशको राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली करिडोरको एउटा महत्वपूर्ण अंगको रुपमा हुम्ला सदरमुकाम सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडिन पुगेको छ ।
२०४२ सालमा तत्कालीन पञ्चायती सरकारले सम्भाव्यता अध्ययन गरेको नेपालको दक्षिणतर्फ रहेको बाँकेको जमुनाह नाकादेखि हुम्लाको हिल्सा हुँदै चीनको नाकासम्मको कुल ६८२ किमी लामो ऐतिहासिक सडकमा आज एउटा पुल निर्माण गरेर आंशिक रूपमा हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन पुगेको हो ।
२०४२ सालमा तत्कालीन सरकारले सम्भाव्यता अध्ययन गरेर नेपालको पश्चिमी क्षेत्रलाई भारत र चीनको नाका हिल्सा जोड्ने सडकको बारेमा पहिलो पटक बहस शुरू गरेको थियो । बहुदल स्थापना भएपछिका तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाबाट २०४८ सालमा पहिलो पटक उक्त सडकको शिलान्यास भएको थियो । शिलान्यास गरेको ३४ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम राष्ट्रिय राजमार्गसँग जोडिन पुगेको हो ।
हुम्लाको खार्पुनाथ चुवाखोला (खार्पु कर्णाली) नदीमा बेलीब्रिज निर्माण सम्पन्न भएसँगै हुम्ला जिल्ला सदरमुकाम सिमकोट पहिलो पटक राष्ट्रिय सडक सञ्जालमा जोडिन पुगेको छ । नेपाली सेनाले खार्पुनाथमा गत साता मात्रै बेलीब्रिज निर्माण सम्पन्न गरेपछि नेपालको विकासमा एउटा अध्यायको अन्त्य भई नयाँ अध्याय शुरूवात भएको छ । यससँगै नेपालको ७७ औं जिल्ला हुम्लामा पनि मोटरबाटो पुगेको हो ।

हाल उक्त सडक पक्की वा स्थायी रूपमा तयार भइसकेको छैन । फोरह्वीलर गाडीहरू तथा ठूला बसहरु दुःख–कष्टकासाथ चलाउन मिल्ने मात्रै भएको हो । तत्काल यसलाई पिच गरी स्थायी नबनाएसम्म हाल मृत्युमार्गको नामले चिनिएको कर्णाली राजमार्गमा हुने सवारी दुर्घटनाले अर्को भयावहस्थिति आउन सक्ने जोखिम कायमै छ ।
बहुदलीय व्यवस्थाको स्थापनासँगै मुलुकको बागडोर सम्हालेका कांग्रेस एमालेले कर्णाली करिडोरलाई कहिल्यै बजेट छुट्याएनन् । शिलान्यास मात्रै गरियो निर्माण शुरू नै भएन । राजाको प्रत्यक्ष शासनकालमा २०५८ सालपछि पुनः उक्त सडक निर्माणले गति लियो । जसको परिणाम २०६३ सालमा जुम्ला सदरमुकाम खलंगा राष्ट्रिय सडक सञ्जाल जोडिन पुग्यो । २०७१ साल चैत्र ९ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको अध्यक्षमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त करिडोरमा सडक बिस्तार गर्न नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको थियो ।
पछिल्लो पटक बिकट हिमाली जिल्ला हुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद छिरिङ डम्दुल लामा (कार्चेन)ले हुल्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमार्फत् राजधानी काठमाडौंसँग जोड्ने तीव्र बनाएका थिए । जसमा सांसद कार्चेन सफल समेत भएका छन् ।

सडकमा नेपाली सेनाले केही वर्ष पहिले नै ट्याक खोलिसकेको भएपनि ठूला नदीहरूमा पुल बन्न नसक्दा सवारी सञ्चालनमा समस्या थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा यातायात मन्त्री प्रकाश ज्वालाले २०८० पुस २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र हुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद छिरिङ डम्दुल लामाले सल्लीसल्लामा निर्माण भएको बेलिब्रिज उद्घाटन गरेका थिए । उक्त पुल बनेसँगै सिमीकोट मोटर सपना धेरै टाढा थिएन । यस वर्ष खार्पुनाथमा पुल बनेपछि भने अब ३४ बर्ष पुरानो सपना पुरा भएको छ ।
हुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद छिरिङ डम्दुल लामा (कार्चेन) ले कर्णाली करिडोर सम्पन्न गर्न र हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने बिषय जोडतोडले उठाउँदै आए । पार्टी सरकारमा हुँदा पनि नहुँदा पनि सांसद कार्चेनले हुम्ली जनताको सडक चाहनालाई सदन र सरकार सामु उठाइ रहे, कराइरहे, चिच्याइरहे ।

सांसद कार्चेनले चुनावी नारा मात्रै बनाएका थिएनन् जुनसुकै मन्त्री, प्रधानमन्त्री आए पनि हुम्ला सडकको एजेण्डा छोडेनन् । आफ्नै पार्टीको सरकार हुँदा पनि तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई समेत खबरदारी गरेका सांसद कार्चेनले अहिलेका प्रधानमन्त्री केपी ओलीलाई कहिले संसदको रोष्टमबाट त कहिले शून्य समयमा खबरदारी गरिरहे । पछिल्लो समय सरकारले काम गर्न नसकेको भन्दै संसदमै गुहार मागेर हंगामा मच्चाएका थिए । हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम आउनु अघि नै संसदमा ‘हामी हुम्लीहरूलाई राष्ट्रिय सडक र प्रशारण लाईनको सञ्जालमा कहिले जोड्छौं ? सरकार’ भन्दै प्रश्न उठाइरहे ।
कर्णाली करिडोर मात्रै होइन हुम्लाको सडकका लागि कार्चेनले लामो समयदेखि मेहनत गर्दै आएका छन् । हुम्लाको सिमकोटदेखि चीन सिमाना लिमी लाप्चासम्मको सडक निर्माणको लागि कार्चेनकै पहलमा एक करोड बजेट छुट्याएर काम गर्दा निकै नतिजा देखिएको थियो । उक्त सडक अहिले सञ्चालन भइरहेको छ ।
सांसद कार्चेनले हुम्लामा सडक सञ्जालमा जोडिएको विषयमा प्रतिक्रिया दिँदै भने, ‘आज हुम्ली जनताको सपना आंशिक रूपमा पूरा भएको छ । हाम्रो पार्टीको सरकार हुँदा र विपक्षी पार्टीको सरकार हुँदा पनि निरन्तर मैले खबरदारी गरेकै कारण बाध्य भएर सेनाकै सहयोगमा भएपनि खार्पुनाथमा बेलीब्रिज जडान सम्पन्न भएको छ । जसले गरे पनि यो स्वागतयोग्य कार्य हो ।’
सांसद कार्चेनले कर्णाली करिडोरमा अझै मुख्य काम गर्न बाँकी रहेको बताउँदै हालको मृत्युमार्गलाई जीवनमार्गमा रुपान्तरण हुने गरी योजना बनाउन र बजेट तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा सरकार त्यसमा चुकेको बताए ।













