सुनचाँदी व्यवसायी आन्दोलित: कर खारेजीको मागसहित साताव्यापी विरोध कार्यक्रम घोषणा

२२ असार २०८२, आईतवार १४:१६

काठमाडौं । सरकारद्वारा चालु आर्थिक वर्ष २०८२/८३ मा सुनचाँदी तथा रत्न–आभूषण व्यवसायमा लगाइएको नयाँ करप्रति असहमति जनाउँदै व्यवसायीहरू सशक्त आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्तरूपमा साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्।

महासंघहरूले संयुक्त विज्ञप्तिमार्फत असार २७ गतेसम्म काठमाडौं उपत्यकाभर विभिन्न चरणमा विरोध कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन्। केही दिनदेखि पसलहरू बन्द गरी शान्तिपूर्ण प्रदर्शन गरिरहेका व्यवसायीहरूले अब आन्दोलनको दोस्रो चरणमा प्रवेश गर्दै सरकारसँग प्रत्यक्ष संवादको तयारीसमेत गरेका छन्।

आज असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कर खारेजीसम्बन्धी लिखित मागपत्र बुझाउने कार्यक्रम छ। त्यसपछि न्युरोड क्षेत्रमा एक घण्टा प्लेकार्डसहित प्रदर्शन गरिनेछ।

असार २३ गते कर संरचना तथा आर्थिक प्रभावबारे विज्ञहरूसँग परामर्श गरिनेछ भने असार २४ गते उपत्यकाभित्रका अन्य जिल्लाहरूमा बाँकी विरोध कार्यक्रमहरू सम्पन्न गरिनेछन्।

कार्यतालिकाअनुसार असार २५ गते विषयगत गोष्ठी आयोजना गरिनेछ, जसमा नीतिगत बहस र वैकल्पिक प्रस्तावहरू प्रस्तुत गरिने बताइएको छ। त्यसैगरी, असार २६ गते काठमाडौंमै खबरदारी सभा आयोजना गरिनेछ भने असार २७ गते शुक्रबार राष्ट्रियस्तरको खबरदारी सभासमेत आयोजना हुने जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*