विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
२२ असार २०८२, आईतवार १७:१०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ ।
आइतबार बसेको समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेका थिए । उनले शिक्षक महासंघसँग वार्ता जारी रहेको उल्लेख गर्दै विधेयक पास गर्नका लागि समय आवश्यक भएको बताएका थिए ।
तर, बैठकमा सहभागी अधिकांश सांसदहरूले भने विधेयक आजै पारित गर्नुपर्ने धारणा राखेका थिए । यद्यपि, समिति सभापति अम्मरबहादुर थापाले सरकारलाई पाँच दिनको समय दिइएको निर्णय सुनाए ।
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । विधेयकका केही विषयमा अझै सहमति नजुट्दा अन्तिम समयमा आएर समितिबाट पास हुन सकेको छैन ।













