बीमा कम्पनीहरुले बढाए दावी भुक्तानीको दायरा, ११ महिनामा ७३ अर्ब दावी भुक्तानी, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरु बीमा दावी भुक्तानीको दायरा बृद्धि गर्दै अघि बढीरहेका छन् । विशेषगरी निर्जीवन बीमा कम्पनीहरुले दावी भुक्तानी दोहोरो अंकले बृद्धि गराउन सफल भएका हुन् ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सञ्चालित बीमा कम्पनीहरुले कुल ७२ अर्ब ९४ करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जीवन र निर्जीवन बीमा कम्पनीका तीन लाख ६५ हजार ८९० बीमितले उक्त दावी भुक्तानी प्राप्त गरेका हुन् ।
विवरण अनुुसार निर्जीवन बीमा कम्पनीहरुले बीमा दावी भुक्तानीमा निकै सक्रियता देखाएका छन् । निर्जीवन बीमकको बीमा दावी भुक्तानी गत आवको तुलनामा २६ दशमलव ७४ प्रतिशतले बृद्धि भएको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ३० करोड रुपैयाँको बीमा दावी भुक्तानी दिन सफल भएका छन् । कम्पनीहरुले यस अवधिमा एक लाख २७ हजार २७८ वटा बीमा दावी वापत उक्त रकम हस्तान्तरण गरेका हुन् ।
बाढी पहिरो तथा हुलदंगाले निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षमो निकै ठूलो मात्रामा बीमा दावी परेको थियो । कम्पनीहरुको बलियो स्वास्थ्य अवस्था र सक्रियताले बीमा दावी भुक्तानी सरल र सहज रुपमा बीमितले पाएका छन् ।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा करिव ५२ अर्ब ६४ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेका छन् । कम्पनीहरुले दुई लाख ३८ हजार ६०८ वटा बीमा दावी बराबरको रकम बीमितलाई हस्तान्तरण गरेका छन् । गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीको बीमा दावी भुक्तानी रकम दुई दशमलव ४५ प्रतिशतले घटेको छ ।
कम्पनीहरुले गत आर्थिक वर्षको जेठ महिनासम्ममा दुई लाख ६८ हजार ६७७ वटा बीमा दावी वापत ५३ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी दिएको थियो । गत आवको तुलनामा कम्पनीहरुको बीमा दावी भुक्तानीमा सामान्य अंकले गिरावट आएको नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरणले जनाएको छ ।
बीमा कम्पनीहरुको बीमा दावी भुक्तानीमा विभिन्न ठगीका सन्दर्भ तथा प्रहरी रिपोर्ट र बीमितका संरक्षक, सर्भेयरले बुझाएको विवरणका आधारमा बीमा दावी गर्ने प्रावधान रहेको छ । यस्ता सबै प्रक्रिया पुरा भएको खण्डमा जीवन बीमा कम्पनीहरुले सहजै बीमा दावी भुक्तानी गर्ने गरेका छन् ।
बीमितको संरक्षक तथा सर्भेयरले समयमा नै आवश्यक विवरण उपबल्ध नगराउँदा बीमा दावी भुक्तानी ढिला भएको जानकार बताउँछन् । बीमा कम्पनीहरुमा बीमा अभिकर्ता, बीमितका संरक्षक तथा सर्भेयरको रिपोर्टको आधारमा कम्पनीहरुले सहजै बीमा दावी भुक्तानी गर्ने गरेका छन् ।













