रिलायबल नेपाल लाइफले पायो ‘ए माइनस’ रेटिङ, जोखिम व्यवस्थापनमा उत्कृष्ट, वित्तीय अवस्था कस्तो ?

२३ असार २०८२, सोमबार ११:०५

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङ सुधार भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘केयर–एनपी ट्रिपल बी प्लस (आईएस)’ बाट सुधार गरी ‘केयर–एनपी ए माइनस (आईएस)’ मा पुर्‍याएको हो ।

‘केयर–एनपी ए माइनस (आईएस)’ रेटिङ पाउने कम्पनीहरूलाई नेपालमा वित्तीय दायित्व समयमै पूरा गर्ने मामिलामा पर्याप्त सुरक्षा प्रदान गर्ने मानिन्छ । यस्ता कम्पनीहरूमा क्रेडिट जोखिम न्यून हुने मान्यता रहेको छ ।

रेटिङ्स कम्पनीका अनुसार रेटिङ सुधार हुनुमा रिलायबल नेपाल लाइफको सुदृढ सॉल्भेन्सी प्रोफाइल, वित्तीय वर्ष २०८०/८१ मा सुधारिएको सॉल्भेन्सी अनुपात, व्यवसायको विस्तार, बीमा प्रिमियम संकलनमा आएको उल्लेखनीय वृद्धि, र सन् २०२४ तथा सन् २०२५ को पहिलो ९ महिनासम्मको अवधिमा कम्पनीको आम्दानी र नाफामा देखिएको सकारात्मक सुधार मुख्य कारक रहेका छन् ।

केयर रेटिङ्सले कम्पनीको पूँजी आधार, लगानी पोर्टफोलियो, दावी भुक्तानी क्षमतासहित अन्य वित्तीय सूचकहरूलाई समेत समेटेर मूल्याङ्कन गरेको बताइएको छ । विशेषगरी कम्पनीको कम ल्याप्स अनुपात, कम कमिसन र खर्च अनुपात तथा लगानी आम्दानीमा देखिएको स्थिर वृद्धिले कम्पनीको नाफामा योगदान पुर्‍याएको छ । कम्पनीको व्यवस्थापन टोलीको अनुभव, लगानीको गुणस्तर, पर्याप्त पुनर्बीमा व्यवस्था तथा देशभर फैलिएको शाखा सञ्जाल पनि रेटिङ सुधारका सशक्त आधार मानिएका छन् ।

कम्पनीको सञ्चालक समितिमा अध्यक्ष उदय नेपाली श्रेष्ठको नेतृत्वमा सातजना सदस्य छन् । श्रेष्ठसँग डेढ दशकभन्दा बढीको वित्तीय तथा अन्य व्यवसायिक क्षेत्रमा अनुभव छ । कम्पनीको दैनिक सञ्चालन प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीको नेतृत्वमा भइरहेको छ । लोहनीसँग वित्तीय क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव रहेको छ भने उनलाई अन्य अनुभवी व्यवस्थापक टोलीले सघाउँदै आएको छ ।

बीमा प्राधिकरणले २०८० सालदेखि लागू गरेको जोखिम आधारित पूँजी तथा सॉल्भेन्सी निर्देशन अनुसार कम्पनीले उपलब्ध पूँजी स्रोत ८,५९४ मिलियन र जोखिम आधारित पूँजी आवश्यकता २,३८० मिलियन कायम गरेको छ । यसअनुसार कम्पनीको सॉल्भेन्सी अनुपात ३.६१ गुणा पुगेको छ, जुन प्राधिकरणले निर्धारण गरेको १.३० गुणाको मापदण्डभन्दा धेरै माथि हो । यो अनुपात अघिल्लो वर्ष १.५८ गुणा मात्र थियो । कम्पनीको सम्पत्तिमा भएको वृद्धिले सॉल्भेन्सी स्तरमा सुधार ल्याएको हो, जसमा लगानीबाट प्राप्त आम्दानी र सार्वजनिक निष्कासनबाट प्राप्त रकम प्रमुख हुन् । सन् २०२४ को अन्त्यसम्म रिलायबलको सॉल्भेन्सी स्तर बीमा उद्योगकै उच्च तहमा पर्न गएको हो ।

कम्पनीले प्रकोप कोषसमेत सुदृढ बनाएको छ । सन् २०२४ को अन्त्यसम्म प्रकोप कोष १६१ मिलियन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो । कम्पनीले सन् २०२४ मा जीवन बीमा कोषमा २,४८८ मिलियन स्थानान्तरण गरेको छ, जसले बढेर सो अवधिसम्ममा कुल ९,९९५ मिलियन पुगेको छ ।

कम्पनीको लगानी पोर्टफोलियो पनि उल्लेखनीय रूपमा विस्तार भएको छ । सन् २०२४ मा करिब ५४ प्रतिशतले वृद्धि भई कुल लगानी १६,२२८ मिलियन पुगेको छ भने ९ महिनासम्ममा पुनः २० प्रतिशतले वृद्धि भएको छ । कुल लगानीमध्ये करिब ७२ प्रतिशत बैंक तथा वित्तीय संस्थामा सावधि निक्षेपमा रहेको छ, जसले कम्पनीलाई उच्च तरलता सुरक्षा दिएको छ । सन् २०२४ मा कम्पनीको लगानी आम्दानी ४९ प्रतिशतले वृद्धि भई १,३९३ मिलियन पुगेको छ ।

सन् २०२४ मा कम्पनीले कूल ४,२११ मिलियन ग्रस अर्न्ड प्रिमियम संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशत वृद्धि हो । यसमा पहिलो वर्षको प्रिमियम तथा नविकरण प्रिमियम दुबैमा वृद्धि भएको देखिन्छ । वैदेशिक रोजगार बीमामा देखिएको वृद्दि र बीमाप्रतिको चेतनाको विस्तारले एकल प्रिमियममा उल्लेखनीय योगदान दिएको हो । सन् २०२४ मा कम्पनीको नेट प्रिमियम आम्दानी ७ प्रतिशतले वृद्धि भई ३,८१८ मिलियन पुगेको छ भने नेट अन्डरराइटिङ आम्दानी १७ प्रतिशतले वृद्धि भई १,४९९ मिलियन पुगेको छ ।

त्यस्तै, ९ महिनाको अवधिमा कम्पनीको कूल प्रिमियम आम्दानी करिब २४ प्रतिशतले बढेर ३,६९१ मिलियन पुगेको छ भने नेट प्रिमियम आम्दानी करिब २७ प्रतिशतले वृद्धि भई ३,४७९ मिलियन पुगेको छ । सो अवधिमा कम्पनीको अन्डरराइटिङ नाफा ४३ प्रतिशतले बढेर १,६८१ मिलियन पुगेको छ । सोही अवधिमा कम्पनीको नेट प्राफिट ४६६ मिलियन पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३८ प्रतिशतको वृद्धि हो ।

देशभर व्यवसाय विस्तार गर्न कम्पनीले सशक्त सञ्जाल निर्माण गरेको छ । २०८१ सालको चैत मसान्तसम्म कम्पनीसँग सातै प्रदेशमा फैलिएका ९ वटा शाखा र ८५ उपशाखाहरू रहेका छन् । त्यस्तै, कम्पनीसँग ३० हजार ५५४ जना बीमा अभिकर्ता रहेका छन्, जसले कम्पनीलाई बजारमा थप प्रभावशाली बनाएको छ । शाखा तथा एजेन्टहरूको माध्यमबाट कम्पनीले बजारमा ब्रान्डको पहुँच विस्तार गर्नुका साथै ग्राहकहरूसम्म सहज सेवा दिन सक्षम भएको छ ।

202507050737_Reliable_Nepal_Life_Insurance_Limited_-_Issuer_Rating_Revised

One thought on “रिलायबल नेपाल लाइफले पायो ‘ए माइनस’ रेटिङ, जोखिम व्यवस्थापनमा उत्कृष्ट, वित्तीय अवस्था कस्तो ?

  1. सुषमा द्विवेदी लोहनी says:

    खुशीको खबर, संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*