सरकारी ठेक्कामा गम्भीर लापरवाही: चार कम्पनी ‘कालोसूची’मा

काठमाडौँ । सम्झौता अनुसार समयमा काम नगरेका चार निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाएको हो।
विभिन्न सरकारी निकायहरूबाट प्राप्त सिफारिसको आधारमा कारबाही गरिएको जनाइएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम गरिएको यो निर्णय अनुसार अब ती कम्पनीहरूले आगामी एक वर्षसम्म कुनै पनि सार्वजनिक निकायसँग सम्बन्धित खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्। कार्यालयको २०८२ साल असार २२ गतेको निर्णयअनुसार आज असार २३ गतेदेखि उक्त निर्णय कार्यान्वयनमा आएको हो।
कालोसूचीमा परेका कम्पनीमध्ये काठमाडौंस्थित श्री ग्रीन लिफ प्रा. लि. लाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सिफारिसमा कारबाही गरिएको हो। कम्पनीका मुख्य व्यक्ति लुना खरेल रहेका छन्। त्यसैगरी महोत्तरीको गौशाला नगरपालिकाको सिफारिसमा जनकपुरस्थित श्री शिवम कन्स्ट्रक्सन पनि कारबाहीमा परेको छ, जसका प्रमुख राधेश्याम झा हुन्।
काठमाडौंकै अर्को कम्पनी श्री डि.जी. इगल कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रा.लि. लाई सडक डिभिजन चन्द्रनिगाहापुर, रौतहटको सिफारिसमा एक वर्षका लागि सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिबन्ध लगाइएको हो। यस कम्पनीका प्रमुख व्यक्ति रघुनाथ कुमार ठाकुर हुन्। यस्तै, सुनसरीस्थित श्री थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. लाई विराटनगरस्थित शहरी विकास तथा भवन कार्यालयको सिफारिसमा कालोसूचीमा राखिएको छ। यस कम्पनीकी प्रमुख मुन्नी कुमारी मेहता हुन्।














