चिकित्सकहरूको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, बिरामी समस्यामा

२३ असार २०८२, सोमबार ११:४६

काठमाडौँ । नेपाल चिकित्सक संघको आह्वानमा आज (सोमबार) देशभरका अधिकांश अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प भएका छन्। अदालतबाट हालै लिइएका निर्णयप्रति असहमति जनाउँदै चिकित्सकहरू सेवा बहिष्कारमा उत्रिएका हुन्।

उपभोक्ता अदालतले ओम अस्पताल, हिमाल अस्पताल, र ग्राण्डी सिटी अस्पतालसँगै सम्बन्धित चिकित्सकहरूलाई उपचारमा लापरवाही देखिएको ठहर गर्दै करोडौं रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षलाई तिर्नुपर्ने आदेश दिएको थियो। त्यसपछि चिकित्सा क्षेत्र असन्तुष्ट बनेको थियो।

नेपाल चिकित्सक संघले अदालतको फैसलाले चिकित्सकहरूलाई मनोवैज्ञानिक दबाबमा पारेको भन्दै विरोधस्वरूप आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो। संघका महासचिव डा. सन्जिव तिवारीमाथि अदालत अवहेलनाको आरोप लागेपछि उच्च अदालत, पाटनले उनलाई सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ, जसले आन्दोलनलाई झनै तिव्रता दिएको हो।

स्वास्थ्य सेवा बन्द हुँदा सर्वसाधारण बिरामीहरू सर्वाधिक प्रभावित भएका छन्। आवश्यक उपचारका लागि अस्पताल पुगेका बिरामीहरू सेवा नपाएर समस्यामा परेका छन्। कतिपयले बाहिरी निजी क्लिनिक वा आकस्मिक कक्षमा भर पर्नु परेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*