दोर्दी खोलाको लिलामी शेयरमा आजदेखि बोलपत्र पेश गर्न सकिने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटडेले लिलाम बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको लकइनमा नरहेको ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद शेयर खरीदका लागि बोलपत्र खुलेको छ।
कम्पनीले यसअघि १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बाँडफाँडपछि बाँकी रहेको थियो।
उक्त शेयर कम्पनीले जेठ ११ देखि जेठ २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री खुला गरेकोमा ९३ हजार ६२९ कित्ता अझै बाँकी बसेकोमा कम्पनीले अहिले सोही शेयर बिक्री गर्न लागेको हो। त्यसबेला लिलाम शेयर बाँडफाँड गर्दा लकइनमा नरहेको शेयरको अन्तिम मूल्य (कट अफ प्राइस) २७० रुपैयाँ कायम भएको थियो।
अहिले कम्पनीले बिक्री गर्न लागेको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसमा इच्छुक जोकोहीले पनि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार ३२ गते रहेको छ। आवेदन दिंदा घटीमा १०० कित्ताका लागि दिनुपर्नेछ भने बढीमा सम्पूर्ण कित्ताका लागि पनि दिन सकिने व्यवस्था गरिएको छ।
आवेदन फाराम बिक्री प्रबन्धक समेत रहेको सानिमा क्यापिटलको मुख्य कार्यालय नक्सालका साथै सानिमा बैंकको विराटनगर, विर्तामोड, वीरगंज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा ९न्यूरोड०, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी महेन्द्रनगर शाखा कार्यालय र गरिमा विकास बैंकको बाग्लुङ्ग कार्यालयमा पाइनेछ।













