वित्तीय र मौद्रिक नीति फरक बाटोमा हिँड्दा अर्थतन्त्र गम्भीर दबाबमा : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले वित्त नीतिले देखाएको बाटोमा मौद्रिक नीति हिँड्न नसक्दा मौद्रिक नीतिप्रतिको अपेक्षा बढी भएको बताएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा सोमबार आयोजित छलफल कार्यक्रममा उनले वित्तीय नीतिको मार्गचित्रलाई मौद्रिक नीतिले पछ्याउन नसक्दा समस्या उत्पन्न भएको बताए।
गभर्नर पौडेलका अनुसार विगतका वर्षहरूमा वित्तीय नीति र मौद्रिक नीति अलग-अलग दिशामा हिँड्दा मौद्रिक नीतिमाथि अनावश्यक रूपले बढी अपेक्षा गरिएको देखिएको छ। ‘नीति निर्माणका दुई पाटा फरक दिशामा जाँदा अर्थतन्त्रमा असमञ्जस्य उत्पन्न हुन्छ र त्यसको असर एउटामात्र पक्ष—मौद्रिक नीतिमा—देखिन्छ उनले भने।
पौडेलले नेपाली वित्तीय प्रणालीमा कर्जा प्रवाह र स्रोतको अत्यधिक केन्द्रीकरण भएको उल्लेख गर्दै यसले सामाजिक र आर्थिक असमानता बढाउने चेतावनी दिए। “जब अवसरको पहुँच केही वर्ग वा क्षेत्रमा मात्र सिमित हुन्छ, त्यो दीर्घकालीन रूपमा अस्थिरताको कारक बन्न सक्छ,” गभर्नरको भनाइ थियो।
उनले समाजमा समान अवसर सुनिश्चित हुनुपर्नेमा जोड दिंदै समावेशी वित्तीय पहुँचको आवश्यकता औंल्याए। साथै, बैंकिङ प्रणालीमा ठूलो आकारका ऋणको केन्द्रीकरणले जोखिम बढाउने भन्दै, ५ करोडभन्दा माथिको कर्जा प्रवाह उच्च दरमा देखिएको पनि खुलासा गरे।












