राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

२४ असार २०८२, मंगलवार ०७:४१

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडद्वारा निष्काशन गरिएको हकप्रद शेयरमा आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार १ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आजको बैंकिङ समयभित्र मात्र आवेदन दिन सकिनेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अनुपातमा अर्थात् १ कित्ता बराबर १ कित्ता नयाँ शेयरको दरमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता शेयर जारी गरिएका छन्। यसबाट कम्पनीले कुल ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।

कम्पनीले हकप्रद निष्काशनका लागि जेठ ६ गते बुकक्लोज गरिसकेकोले जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन्।

कम्पनीले क्रेडिट रेटिङ संस्था इक्रा नेपालबाट ‘इक्रा एनपी इस्यूअर रेटिङ बी माइनस’ रेटिङ पाएको छ यसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले उक्त क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौं, राप्ती हाइड्रोको त्रिपुरेश्वरस्थित कर्पोरेट कार्यालय, साथै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा–कास्की, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली र महेन्द्रनगर–कञ्चनपुरबाट आवेदन दिन सकिनेछ।

त्यसैगरी सि–आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरु वा ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि सजिलै आवेदन दिन सकिने व्यवस्था रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ छ। हकप्रद निष्काशन र बाँडफाँडपछि यो पूँजी दोब्बर भई १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*