त्रिशूली नदीमा आएको बाढीले २ सय मेगावाट विद्युत् उत्पादन ठप्प, करोडौँको क्षति

२४ असार २०८२, मंगलवार १०:१५

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाहरूबाट उत्पादन हुँदै आएको करिब २ सय मेगावाट विद्युत् ठप्प भएको छ । भीषण वर्षासँगै आएको बाढीले आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याएपछि उत्पादन बन्द भएको हो ।

सबैभन्दा ठूलो क्षति १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा पुगेको छ । उक्त आयोजनाको बाँधमा रहेको एउटा गेट बाढीले बगाएको छ । साथै, आयोजनाको पुल चर्किएको छ, जसका कारण आवतजावतसमेत रोकिएको छ । गम्भीर क्षतिको कारण तत्काल विद्युत् उत्पादन पुनः सञ्चालन गर्न सकिने अवस्था छैन ।

त्यस्तै, ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा पनि ठूलो क्षति पुगेको छ । आयोजनाको भवनमा बाढी पस्दा उपकरणहरू डुबेका छन् भने त्रिशूली ३ बी सबस्टेसन पूरै हिलोले पुरिएको छ ।

प्राधिकरणका अनुसार २१ मेगावाट क्षमताको त्रिशूली आयोजना र १५ मेगावाट क्षमताको देवीघाट आयोजना समेत ठप्प छन् ।

रसुवागढी र त्रिशूली ३ ए परियोजनामा क्षतिको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरेर उत्पादन सुरु गर्न सकिने अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।

यससँगै भोटेकोसी र त्रिशूली करिडोरका अन्य आयोजना पनि प्रभावित भएका छन् । लगातारको वर्षा र बाढीका कारण यी क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजनाहरूबाट तत्काल उत्पादन पुनः सुरु गर्न असम्भव देखिएको छ ।

प्राधिकरणका प्रवक्ता अनुसार प्रारम्भिक मूल्याङ्कनअनुसार करोडौँ रुपैयाँ बराबरको संरचनात्मक क्षति भएको अनुमान गरिएको छ । पूर्ण विवरणका लागि प्राविधिक टोलीलाई स्थलगत निरीक्षणका लागि पठाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*