भोटेकोशीको भीषण बाढीले बलियो मितेरी पुल बगायो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका रसुवागढीको मितेरी पुल बगाएको छ। नेपाल र चीनबीचको व्यापारिक आवागमनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने सो पुल बगाएपछि दुई देशबीचको सिधा सम्पर्क पूर्ण रूपमा टुटेको छ।
पुल बगेसँगै रसुवागढी नाका पूर्ण रूपमा बन्द भएको छ। नेपालबाट चीनतर्फ र चीनबाट नेपालतर्फ हुने मालसामानको आवागमन अवरुद्ध भएको छ। यस नाकाबाट दैनिक रूपमा सयौँ ट्रक आवत–जावत गर्ने गरेका थिए। पुल पुनःनिर्माणको प्रक्रिया थालिनुअघि अध्ययन, डिजाइन र प्राविधिक मूल्यांकन गर्नुपर्ने भएकाले तत्काल सञ्चालन हुने सम्भावना देखिँदैन।
बाढीले रसुवागढीको सुख्खा बन्दरगाह क्षेत्रमा पनि ठूला क्षति पुर्याएको छ। भन्सारको कामका लागि पार्किङ गरिएका विद्युतीय सवारीसाधन (ईभी) हरु बाढीले बगाएको छ। यो क्षेत्र भन्सार, सुरक्षाकर्मी र व्यवसायीहरूको गतिविधिको केन्द्र हो। बाढीले ल्याएको माटो, ढुंगा र बगरका कारण अहिले पनि बन्दरगाह क्षेत्रमा काम गर्न जोखिमपूर्ण छ। सुरक्षाकर्मी र उद्धार टोली खटिएको भए पनि नदीमा पानीको बहाव उच्च भएकाले जोखिम अझै कायम छ।
त्यस्तै, रसुवागढी जलविद्युत आयोजनाको संरचना पनि बाढीको प्रभावमा परेको छ। ड्याम क्षेत्रमा बाढीको प्रभावले संरचना च्यातिएको, माटो थुप्रिएको र उपकरणहरू क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ। जलविद्युत उत्पादन पूर्ण रूपमा रोकिएको र ड्याम आसपासको क्षेत्र खाली गरिएको जनाइएको छ।













