टेलिकमको इन्टरनेट सेवा पुनःस्थापना हुँदै, केही समयका लागि स्पीडमा समस्या
२४ असार २०८२, मंगलवार १२:२१

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकबाट खरिद गरेको इन्टरनेट सेवामा आएको अवरोधका कारण हाल केही समयदेखि सेवा सुस्त भएको जानकारी दिएको छ।
कम्पनीका अनुसार असार २४ गते बिहान १:३० बजेदेखि एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएपछि सम्पूर्ण ट्राफिक वैकल्पिक सेवा प्रदायकमार्फत सञ्चालन गरिएको छ।
यसकारण वैकल्पिक नेटवर्कमा अचानक बढेको चापले नेपाल टेलिकमको इन्टरनेट सेवा स्पीडमा अस्थायी प्रभाव परेको छ। नेपाल टेलिकमले यो समस्या तुरुन्त समाधान गरी सेवा पुनःस्थापना गर्ने काम जारी राखेको जनाएको छ।
कम्पनीले अप्रत्याशित कारणले सेवा अवरुद्ध भएका कारण ग्राहक वर्गलाई परेको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।














