१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब

२४ असार २०८२, मंगलवार १२:२९

काठमाडौं  । आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा देशमा भित्रिएको विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५.५ प्रतिशतले वृद्धि भई कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा १७.२ प्रतिशतको वृद्धि भएको थियो।

केन्द्रीय बैंकका अनुसार २०८२ सालको जेठ महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँभन्दा उल्लेख्य रूपमा बढी हो।

समीक्षा अवधिमा अमेरिकी डलरमा मापन गरिएको विप्रेषण आप्रवाह पनि १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १५.२ प्रतिशत थियो।

यस अवधिमा कुल खुद द्वितीय आय  तथा ट्रान्सफर रकम १६६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १४४३ अर्ब १० करोड थियो।

यसैबीच, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि बढेको छ। समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख ५२ हजार ३२४ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख २१ हजार ३५६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ६१ हजार २१० थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*