विदेशी विनिमय सञ्चिति २५.९% ले बढेर २५ खर्ब ६९ अर्ब पुग्यो, १७.६ महिनाको आयात धान्ने

२४ असार २०८२, मंगलवार १२:३७

काठमाडौं । आर्थिक वर्ष २०८२ जेठ मसान्तसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही समय २०८१ असार मसान्तमा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा मूल्याङ्कन गर्दा यो अवधिमा सञ्चिति २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ। २०८१ असार मसान्तमा अमेरिकी डलरमा सञ्चिति १५ अर्ब २७ करोड थियो।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ। यो रकम २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रुपैयाँ थियो। यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको सञ्चिति ५३.२ प्रतिशतले वृद्धि भई २९४ अर्ब ९२ करोड पुगेको छ, जुन अघिल्लो वर्ष १९२ अर्ब ५५ करोड थियो।

२०८२ जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.५ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार, हालको सञ्चिति आर्थिक स्थायित्वका हिसाबले पर्याप्त मानिन्छ। आर्थिक वर्ष २०८१/८२ को एघार महिनाको आयातलाई आधार मान्दा, बैंकिङ प्रणालीसँग रहेको सञ्चितिले १७.६ महिनाको वस्तु आयात तथा १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता देखिएको छ।

यसैगरी, २०८२ जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति देशको कुल गार्हस्थ्य उत्पादन को ४२.१ प्रतिशत, कुल आयातको १२२.९ प्रतिशत र विस्तृत मुद्राप्रदायको ३४.१ प्रतिशत बराबर पुगेको छ। तुलनात्मक रूपमा २०८१ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*