अन्तरबैंक कारोबारमा ठूलो धक्का: एक वर्षमै २३ खर्ब ८० अर्बले घट्यो
२४ असार २०८२, मंगलवार १२:४४

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कुल अन्तरबैंक कारोबार ५८.६ प्रतिशतले घटेर १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो उल्लेख गरिएको हो।
यस अवधिमा वाणिज्य बैंकहरूबीच मात्र १५ खर्ब ३१ अर्ब २१ करोडको कारोबार भएको छ भने अन्य वित्तीय संस्थाहरूबीच (वाणिज्य बैंकबाहेक) १ खर्ब ५० अर्ब ३३ करोडको कारोबार भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूले आपसमा ३७ खर्ब १ अर्ब ४३ करोड बराबरको कारोबार गरेका थिए। यस्तै, अन्य वित्तीय संस्थाहरूबीचको कारोबार र ३ खर्ब५९ अर्ब ५५ करोड रहेको थियो।












