नेपाल एसबिआई बैंकले मनायो ३२औं वार्षिकोत्सव

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन २३ गते आफ्नो ३२औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ। यस अवसरमा बैंकले आयोजना गरेको शपथ ग्रहण समारोहमा कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीप्रति प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकको प्रगति र उपलब्धिबारे बोलेका थिए। उनले सबै कर्मचारीहरूलाई व्यक्तिगत जिम्मेवारी वहन गर्दै संस्थाको दिगो विकासमा योगदान दिन आग्रह गरे।
त्यस्तै नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्दले सबैको समर्पणप्रति धन्यवाद दिँदै निरन्तर योगदानको अपेक्षा व्यक्त गरे। प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडाले सहभागी र सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरे।
उक्त दिन सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले काठमाडौंको कमलादीस्थित कर्पोरेट कार्यालयसहित देशभरका प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। साथै रूपन्देहीको भैरहवामा फरक क्षमता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरणसमेत गरिएको बैंकले जनाएको छ।
नेपाल एसबिआई बैंकले ३२ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको छ। हाल बैंकसँग १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम, र १ कर्पोरेट कार्यालय छन्। भर्खरै मोरङको बेलबारीमा नयाँ शाखा पनि सञ्चालनमा आएको छ।













