प्राधिकरणमा शाक्यको सय दिन : ९ पृष्ठे प्रतिवेदनमा के के छन् उपलब्धि ? (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा प्राधिकरणले सय दिनभित्र लक्षणीय उपलब्धि हासिल गरेको छ । प्रणाली सुदृढीकरणदेखि अन्तर्राष्ट्रिय बजारमा विद्युत् निर्यातसम्मका कार्य योजनामा तीव्रता दिँदै उनले नेतृत्व सम्हालेदेखि नै प्राधिकरणलाई नयाँ दिशातर्फ डोर्याएका छन् ।
शाक्यले सोमबार सार्वजनिक गरेका तथ्याङ्कहरूमा देखिएअनुसार, हालसम्म ६ हजार ७ सय ६९ सर्किट किलोमिटरको प्रसारण लाइन र १४ हजार १ सय २९ एमभीए क्षमताका सवस्टेशन निर्माण सम्पन्न भइसकेका छन् । पछिल्लो सय दिनमै १०४ सर्किट किलोमिटर प्रसारण लाइन र ३६६ एमभीए क्षमताका सवस्टेशन थपिएका छन् । कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाघु–बसन्तपुर दोस्रो सर्किट निर्माण सकिएर चार्ज भइसकेको छ ।
विद्युत् बहाव सहज बनाउन दमौली–भरतपुर १३२ केभी लाइनको क्षमता ७० मेगावाटबाट बढाएर १३० मेगावाट पुर्याइएको छ । मर्स्याङ्दी र दोर्दी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् अब सजिलै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन थालेको छ । लामो समयदेखि प्रणालीमा समस्या बनेको ढल्केबर–चन्द्रनिगाहपुर लाइनलाई वैकल्पिक मार्गका रूपमा बिस्तार गरी हाल २०० मेगावाट विद्युत् बहाव गर्ने क्षमता विकास गर्ने काम अघि बढाइएको छ ।
ढल्केबर सवस्टेशनबाट हेटौंडा हुँदै निजगढ र पथलैया–चन्द्रनिगाहपुर सवस्टेशनसम्म विद्युत् पु¥याउने ४०० केभी लाइन निर्माण थालिएको छ । यसले गर्दा प्रणालीमा हुने ट्रिपिङ कम हुने र बर्खायाममा ढल्केबर सवस्टेशनबाट निर्यात गर्न सकिने विद्युतको परिमाण १०० मेगावाटले बढ्ने अनुमान गरिएको छ ।
शाक्यले भूमि व्यवस्थापनमा पनि नविन उपाय अघि सारेका छन् । मार्गाधिकारभित्र पर्ने जग्गामा सोलार विद्युत् तथा सामूहिक खेती प्रणाली विकास गर्न सकिने अवधारणालाई प्रबर्द्धन गर्दै भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयमार्फत कित्ताकाटको व्यवस्था अगाडि बढाइएको छ । त्यस्ता जग्गाधनीलाई प्राधिकरणका आयोजनामा प्राथमिकता पाई सेयर दिने प्रस्ताव पनि अघि बढाइएको छ ।
विद्युत् निर्याततर्फ पनि प्राधिकरणले उल्लेखनीय उपलब्धि हात पारेको छ । बंगलादेश सरकारसँगको सम्झौता अनुसार नियमित ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ भने भारततर्फ IEX बजारमार्फत दैनिक औसत ३०० मेगावाट र दुईपक्षीय सम्झौतामार्फत औसत ३२५ मेगावाट गरी कुल ६२५ मेगावाट निर्यात भइसकेको छ ।
पम्प स्टोरेज आयोजनामा पनि गति थपिएको छ । कुलेखानी–सिस्नेरी (१०० मेगावाट) र बुलिङटार–बुङ्किम (४९४ मेगावाट) पम्प स्टोरेज आयोजनाहरूको पूर्व सम्भाव्यता अध्ययन पूरा गरी सम्भाव्यता अध्ययनको लागि लाइसेन्स प्रक्रिया अघि बढाइएको छ । Battery Energy Storage System (BESS) को अध्ययन तथा निर्माणमा समेत अन्तर्राष्ट्रिय सहयोगको पहल सुरू गरिएको छ ।
उद्योगका लागि विद्युत सेवा सुधारतर्फ पनि शाक्यले ध्यान दिएका छन् । प्राधिकरणले नियमित महसुल तिर्ने तथा बढी खपत गर्ने १० केन्द्रिय र प्रत्येक प्रदेशमा १० जना उत्कृष्ट औद्योगिक ग्राहकको नाम सार्वजनिक गर्दै कोशी र मधेश प्रदेशमा उनीहरूलाई सम्मानसमेत गरिएको छ ।
प्राधिकरण अन्तर्गतका सहायक कम्पनीहरूमा ‘Company & Project Performance Index’ लागू गर्ने तयारी गरिएको छ, जसमा कम्पनी र आयोजनाहरूको प्रगति मूल्यांकन हुनेछ । प्रोत्साहन भत्ता पनि सोही आधारमा टाइ–अप गरिने तयारी छ, जसका लागि कार्यविधिमा संशोधनको गृहकार्य भइरहेको छ ।
कार्यकारी निर्देशक शाक्यले ‘ऊर्जा सुख्खा’ र ‘निकासयोग्य ऊर्जा’ लाई प्राथमिकतामा राखेर रणनीतिक नीतिहरू अघि सारेका छन् । उनका अनुसार प्रणाली पारदर्शी, उत्तरदायी, नविनतम र सुशासनयुक्त बनाउने अभियान सँगसँगै ‘श्वेतपत्र’ मार्फत प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्गचित्र स्पष्ट पारिएको छ ।
CamScanner 07-08-2025 14.44 (1)












