रसुवागढी हाइड्रोपावरमा बाढीले पुर्यायो ठूलो क्षति, विद्युत उत्पादन बन्द
२५ असार २०८२, बुधबार ११:१८

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरमा ठूलो क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट गत पुस १६ गतेदेखि व्यापारिक रूपमा विद्युत उत्पादन भइरहेको थियो।
यस आयोजनाको श्रोत नदी समेत रहेको भोटेकोशीमा हिजोे असार २४ गते आएको बाढीले आयोजनाको बाँधस्थल, आवासगृह, आवासगृहदेखि जलविद्युत केन्द्रसम्म जाने पहुँचमार्ग लगायतका संरचनाहरूमा ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ।
कम्पनीले काबू बाहिरको परिस्थिति उत्पन्न भएको र विद्युत आयोजनामा बाढीले व्यापक मात्रामा क्षति पुगेकाले विद्युत उत्पादन बन्द भएको जानकारी दिएको छ।











