मौद्रिक नीति लचिलो होस् तर नियन्त्रण नगुमाओस्ः वर्षामान पुन

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षामान पुनले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै मौद्रिक नीति लचिलो बनाएर मात्र अर्थतन्त्र सुधार नहुने चेतावनी दिएका छन्। उनले नीति निर्माणमा सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै आवश्यकता भन्दा बढी लचिलोपनले नियमन कमजोर हुने खतरा औंल्याए।
पुनले वर्तमान वित्तीय नीति संकुचित हुँदै गएको उल्लेख गर्दै यसको असर मौद्रिक नीतिमा समेत देखिन थालेको बताए। यति बेला निजी क्षेत्र नयाँ गर्भनरप्रति आशावादी रहेको तर त्यसको अर्थ अत्यधिक सहजता दिनु नहुनेमा उनको जोड थियो। मौद्रिक नीति सममित र सन्तुलित ढंगले अघि बढ्नुपर्ने र नियमनात्मक भूमिका अझ सशक्त बनाइनुपर्ने उनले तर्क गरे।
ठूलो परिमाणमा कर्जा लिनेहरू आर्थिक रूपमा लथालिङ्ग अवस्थामा पुगेको उदाहरण दिँदै उनले नियमनमा कमजोरी आएको संकेत गरे। यसबाट उत्पन्न जोखिमले सम्पूर्ण वित्तीय प्रणालीलाई असर गर्न सक्ने भन्दै उनले सचेत गराए।
सरकारको नीति सहज बनाउने उद्देश्यले मौद्रिक नीति पूर्ण खुकुलो बनाइनु पनि उपयुक्त नहुने बताउँदै उनले महँगी केही घरपरिवारमा देखिए पनि समग्र अर्थतन्त्रमा सन्तुलन कायम गर्न नीति संयमित हुनुपर्ने धारणा राखे। उनले निष्कर्षमा भने, ‘मौद्रिक नीति खुकुलो होस्, तर नियन्त्रण भने नगुमाओस्।












