मौद्रिक नीति अत्यधिक कडाइ र खुकुलोपनबीच दोधारमा छ: सांसद चौधरी

काठमाडौं। अर्थ समितिको बैठकमा मौद्रिक नीति सम्बन्धी छलफल गर्दै सांसद विनोद चौधरीले राष्ट्र बैंकको नीतिगत झुकाव अत्यधिक कडाइ र अत्यधिक खुकुलोपनबीच दोधारमा देखिएको टिप्पणी गरेका छन्। उनले नीति बनाउने क्रममा सन्तुलनको खाँचो रहेको उल्लेख गर्दै भने, ‘राम्रो नीति कस्यो भने मुसा पनि नजाने, खोल्यो भने पूरै खुला हुने अवस्था छ।’
उनले मौद्रिक नीतिको मूल उद्देश्य लगानी प्रवाह गर्न सहज वातावरण बनाउनु हुनुपर्नेमा जोड दिए। उनले भने, ‘अहिले बजारमा तरलता अभाव छ, पैसा आइरहेको छैन र खराब कर्जाको समस्या बढ्दो छ। यस्तो अवस्थामा सबै जिम्मेवारी राष्ट्र बैंकको काँधमा मात्र हाल्न हुदैन ।’
बैंक प्रणालीप्रति टिप्पणी गर्दै उनले भने, ‘पहिले जति ठूला शाखा हुन्थे, त्यो बैंक ठूलो मानिन्थ्यो, अहिले अवस्था ठिक उल्टो छ।’ उनले मर्जरका माध्यमबाट बैंक संख्या घटाउने प्रयास सफल भए पनि अहिले पुनः नयाँ बैंकहरू खोल्ने सोच अव्यवहारिक रहेको बताए।
चौधरीले अर्थतन्त्र सुदृढ बनाउन पुँजीगत खर्च बढाउनु आवश्यक रहेको बताए। कृषि क्षेत्रलाई आर्थिक सुधारको मेरुदण्डको रूपमा चित्रण गर्दै उनले भने, ‘अहिलेका किसानले आफ्नो श्रमको मूल्य पनि जोड्दा आजको महँगीभन्दा दोब्बर पर्छ।’












