चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुले सक्रिय प्रभाव जमाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सामान्यभन्दा अलि उत्तरतिर रहेको छ।
आज दिउँसो अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। विशेष गरी कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थुप्रै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
उच्च पहाडी तथा हिमाली भू–भागमा पनि वर्षासँगै हिमपातको सम्भावना छ। रातको समय पनि देशभर सामान्य बदली रहने र पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ।
वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। विशेष गरी सहरी र तराई क्षेत्रमा डुबानको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन भनिएको छ।
पानीको सतह बढ्न सक्ने भएकाले नदीनाला, खोलासँगै सडक र हवाई यातायातमा असर पर्न सक्ने पूर्वानुमान गरिएको छ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्र प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबै पक्षलाई तयारी अवस्थामा रहन विभागले आग्रह गरेको छ।











