दर्जनौं जलविद्युत आयोजनामा गम्भीर क्षति, इप्पानद्वारा सरकारलाई तत्काल पहलको आग्रह

काठमाडौं । असार २४ गते चीनको तिब्बत क्षेत्रबाट आएको भोटेकोशी (लेहेन्दे खोला) बाढीले रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन तथा सञ्चालनमा रहेका दर्जनौं जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्याएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले गहिरो दुःख व्यक्त गर्दै सरकारलाई तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ।
इप्पानद्वारा बुधबार जारी विज्ञप्तिमा बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको, टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाह पूर्णरूपमा ध्वस्त भएको र ७ जनाको ज्यान गएका साथै १९ जना अझै बेपत्ता रहेको घटनाले गम्भीर मानवीय र भौतिक क्षति भएको उल्लेख गरिएको छ।
बाढीका कारण करिब २५० मेगावाटको विद्युत उत्पादन तत्काल रोकिएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजना निर्माण कार्य अवरुद्ध भएको इप्पानको भनाइ छ।
१११ मेगावाटको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ए, २५ मेगावाटको त्रिशूली, २२ मेगावाटको चिलिमे, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट र ५ मेगावाटको मैलुङ खोला जलविद्युतमा क्षति भएको छ । यीमध्ये अधिकांश आयोजनाहरूमा निजी क्षेत्रको लगानी रहेको र निर्माणाधीन आयोजना अझै निजी नेतृत्वमै अगाडि बढिरहेको इप्पानले जानकारी दिएको छ।
त्रिशूली नदी करिडोरमा विद्युत प्रसारणको प्रमुख आधार त्रिशूली ३बी हब सवस्टेशन र प्रसारण लाइनमा पनि क्षति पुग्दा निकट भविष्यमा अर्बौंको घाटा हुने प्रक्षेपण गरिएको छ। बाढीले टिमुरेस्थित सुख्खा बन्दरगाह र मितेरी पुलमा व्यापक क्षति पुर्याएको छ। दर्जनौं कन्टेनर सवारीसाधन बगाएको, भन्सार बिन्दुमा रहेका सयौं गाडी नष्ट भएको र नेपाल–चीन व्यापारिक नाका पूर्णरूपमा अवरुद्ध हुँदा वार्षिक एक खर्बभन्दा बढीको द्विपक्षीय व्यापारमा गम्भीर असर परेको इप्पानले जनाएको छ।
इप्पानले यस्तो परिस्थितिमा राजस्व संकलनमा पर्ने असरको मूल्यांकन गर्दै नाका छिटो सञ्चालनमा ल्याउन सरकारसँग विशेष आग्रह गरेको छ। इप्पानले रसुवागढी जलविद्युतमा कार्यरत ३६ जनासहित करिब १५० जनाको उद्धारमा देखाइएको सक्रियता प्रति नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई धन्यवाद दिँदै पीडित संरचनाको पुनर्निर्माण, विद्युत उत्पादन पुनःसञ्चालन र नीतिगत सहजीकरणका लागि आग्रह गरेको छ।
इप्पानले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बेपत्ता नागरिकको खोजी जारी रहेको जनाउदै सबै नदी बेसिन क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ













