लगानीकर्तालाई झुक्याउने बाटो बन्द: कमजोर वित्तीय धरातलको प्राइम बैंकको ऋणपत्रमा रोक

२६ असार २०८२, बिहीबार १४:१९

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राइम कमर्शियल बैंक लिमिटेडलाई ऋणपत्र निष्कासनमा रोक लगाउँदै आइरहेको छ । बैंकको वित्तीय अवस्था निरन्तर कमजोर हुँदै गएको, संस्थागत सुशासनमा गम्भीर कमजोरी देखिएको र बैंक सीमित व्यक्तिहरूको इशारामा चलिरहेको निष्कर्षसहित नियामक निकायले ऋणपत्र निष्कासनमा अनुमतिमा रोक लगाएको हो ।

२०८१ साउन २ गते बैंकले ८ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने प्रस्ताव पेश गरेको थियो । १० वर्षे अवधि तोकिएको उक्त ऋणपत्रका लागि बोर्डसँग आवश्यक स्वीकृति मागिएको थियो । तर बोर्डले प्रस्तावको मूल्यांकन गर्दै २०८२ वैशाख ११ गते बैंकलाई आवश्यक थप कागजात पेश गर्न निर्देशन दिएको थियो ।

बोर्डले सोधेका कागजातहरूमध्ये केही पेश भए तापनि कम्पनीको वर्तमान अवस्था नियामक निकायलाई चिन्ताजनक लागेपछि ऋणपत्र स्वीकृतिको प्रक्रिया नै रोक्ने निर्णय लिएको हो । सेबोन स्रोतहरूका अनुसार बैंकको भित्री व्यवस्थापन, कमजोर वित्तीय सूचकाङ्क र संस्थागत शुशासनको गिरावटकै कारण ऋणपत्र निष्कासनले सर्वसाधारण लगानीकर्तामा जोखिम बढाउने ठहर गरिएको छ ।

प्राइम कमर्शियल बैंक विगत केही वर्षदेखि निरन्तर वित्तीय समस्यामा फँस्दै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खराब कर्जा अनुपात ५.६५ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ४.२९ प्रतिशतरहेको थियो । बैंकको खुद नाफा पनि खुम्चिदै गएको छ । हालसम्मको नाफा मात्र २ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी १५.३२ रुपैयाँमा झरेको छ ।

बैंकको सञ्चालन पद्धति र निर्णय प्रक्रियामै गम्भीर प्रश्न उठ्न थालेका छन् । बैंक संस्थापक र उच्च व्यवस्थापन तहमा सीमित व्यक्तिहरूको बोलवाला रहेको र उनीहरूको निजी स्वार्थअनुरूप बैंक चलिरहेको भन्ने गम्भीर आरोपसमेत उठेका छन् ।

बैंकको संचालन र व्यवस्थापनप्रति संस्थापक शेयरधनीहरू आफैं असन्तुष्ट देखिन थालेका छन् । हालका दिनहरूमा केही संस्थापकहरू बैंकको अवस्था प्रति चिन्तित भई स्वेच्छिक रूपमा शेयर विक्री गर्दै बैंकबाट बाहिरिने प्रयासमा देखिएका छन् ।

अध्यक्ष राजेन्द्र दास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरको नेतृत्वमा बैंक पछिल्लो समयमा समस्यामा फँस्दै गएको प्रष्ट देखिएको छ । उनीहरूका पालामा बैंकको संस्थागत सुशासन कमजोर भएको, वित्तीय अनुशासन पालना नगरेको, जोखिम व्यवस्थापन प्रभावहीन भएको भन्दै आलोचना बढ्दै गएको छ ।

वित्तीय निगरानी संस्था ‘केयर रेटिङ नेपाल’ ले समेत बैंकप्रति सतर्कता अपनाएको छ । यस संस्थाले प्राइम कमर्शियल बैंकलाई दिएको ‘केयर–एनपी ए–माइनस (जारीकर्ता)’ र ‘८.७५ प्रतिशत प्राइम डिबेञ्चर २०८५’ लाई नकारात्मक प्रभावसहितको क्रेडिट वाचमा राखेको छ ।

यस रेटिङको अर्थ हो– बैंकसँग हालको अवस्थासम्म त वित्तीय दायित्वहरू पुरा गर्ने क्षमता छ तर जोखिम स्तर उच्च बन्दै गएको छ ।

वित्तीय अनुशासनको दृष्टिकोणले हेर्दा ऋणपत्र निष्कासन बैंकको स्थायित्व र लगानीकर्ताको विश्वासमा टेकेको हुन्छ । तर, जब बैंकको भित्री स्थिति कमजोर हुन्छ, तब ऋणपत्र निष्कासनले आम लगानीकर्तालाई थप जोखिममा पार्न सक्छ । यही जोखिम कम गर्न सेबोनले नियामक भूमिकामा चासो देखाएको हो ।

बैंकले सेबोनलाई पेस गरेका केही कागजातमा स्पष्ट जानकारी नभएको, असंगत डेटा रहेको र ऋणपत्र निष्कासनपछिको दायित्व वहन क्षमतामा समेत प्रश्न उठ्नेगरी योजना पेश गरेको पाइएपछि स्वीकृति दिन सकिने अवस्था नरहेको सेबोन स्रोतले बताएको छ ।

बोर्डले लगानीकर्ताको हित सुरक्षित गर्नुपर्ने संवैधानिक दायित्वअनुसार यस्तो निर्णय लिएको हो ।

प्राइम कमर्शियल बैंकको स्थायित्वमा प्रश्न उठ्ने अवस्था आउनुमा व्यवस्थापनको लापरवाही, संस्थागत सुशासनको अभाव, सीमित समूहको नियन्त्रण र बजार विश्वासको गिरावट मुख्य कारण देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*