बजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर, नयाँ स्टक एक्सचेञ्ज दिन रोकतोक छैन: श्रेष्ठ

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजीबजार द्रुत गतिमा विकास भए पनि नियमन पक्ष कमजोर रहेको बताएका छन्। बिहीबार संघीय संसदको अर्थ समितिमा बोल्दै उनले विगतमा पूँजीबजारको विस्तारसँगै नियमनको पक्ष सशक्त नबनेको महसुस आफूले गरेको बताए।
श्रेष्ठले आफू अध्यक्ष बनेपछि करिब ६ महिनाको अवधिमा नियमन प्रणाली सुधार गर्न प्रयत्न भइरहेको बताए। विगतमा लेखा समितिबाट आएको पत्र र पछिल्लो समय अर्थ समितिबाट दिइएको निर्देशनले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अन्योलमा परेको भन्दै उनले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समितिबाटै स्पष्ट मार्गदर्शन आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार पूँजीबजार तीव्र गतिमा अघि बढिरहेको भए पनि धितोपत्र बोर्डले त्यसअनुरूप नियमन गर्न सकिरहेको छैन। उनले पूँजीबजार कुनै पनि देशको अर्थतन्त्रमा अत्यन्तै महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै नेपालको सन्दर्भमा भने अझै पनि मनी मार्केट हाबी भएको बताए। श्रेष्ठले यस्तो अवस्था सन्तुलनमा ल्याउन मनी मार्केटको दबदबा घटाएर क्यापिटल मार्केट विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
श्रेष्ठले पूँजीबजारलाई सशक्त बनाउन नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न कुनै कानुनी रोकतोक नरहेको बताए। उनका अनुसार अहिलेसम्म तीनवटा प्रस्ताव बोर्डमा दर्ता भइसकेका छन् र ती प्रस्तावहरूको मूल्यांकन गरेर प्रक्रिया अगाडि बढाइनेछ। उनले पूर्वअर्थसचिव चिन्तामणि शिवाकोटीको नेतृत्वमा तयार भएको प्रतिवेदन कार्यान्वयनको चरणमा पुगेको जानकारी गराउँदै उक्त प्रतिवेदनले नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न उपयुक्त समय भइसकेको निष्कर्ष दिएको बताए।
श्रेष्ठले अहिलेको नेप्सेलाई पुनःसंरचना गर्दै लैजानेबारे पनि गृहकार्य भइरहेको जनाए। पूँजीबजारमा उत्पादनमूलक र राम्रो वित्तीय अवस्था भएका कम्पनीहरूलाई प्राथमिकता दिइनु पर्ने उल्लेख गर्दै उनले बजारमा यस्ता कम्पनीहरूलाई प्रिमियम मूल्यमा ल्याउने गरिँदै आएको जानकारी दिए।
उनले पूँजीबजार सुदृढ बनाउन डिबेन्चर, बोनस सेयरलगायतका औजारहरूलाई प्रवर्द्धन गर्ने योजना रहेको बताए। साथै, धितोपत्र ऐन र सरकारको नीति तथा कार्यक्रममै नयाँ औजारहरूको विकास र प्रयोगका लागि प्रावधानहरू राखिने पनि श्रेष्ठको भनाइ थियो।












