‘घरबाटो’ सिफारिस माग्न गएका बैंकका कर्मचारीमाथि वडाध्यक्षको हातपात, बैंकर्सले मागे सुरक्षा

२६ असार २०८२, बिहीबार १६:००

काठमाडौँ ।  जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत एक वडाध्यक्षले बैंकका कर्मचारीमाथि कुटपिट गरेपछि बैंकिङ क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाहरूले कर्मचारीको सुरक्षाको प्रत्याभूति माग गरेका छन्। कर्जावापत धितो लिलामीको प्रक्रियाका लागि आवश्यक घरबाटो सिफारिस लिन गएका जानकी फाइनान्सका एक कर्मचारीमाथि वडाध्यक्षले हातपात गरेका हुन्।

कर्मचारीमाथि हातपात गरी घटनालाई सार्वजनिक नगर्न चेतावनी दिइएपछि सम्बन्धित वित्तीय संस्थाले केही समयसम्म घटनालाई गोप्य राख्ने प्रयास गरेको थियो। तर घटनाबारे जानकारी सार्वजनिक भएपछि, बैंक तथा वित्तीय क्षेत्रले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

हालका वर्षहरूमा कर्जा असुलीमा गएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि ऋणीहरूद्वारा आक्रमण हुने घटनाहरू दोहोरिँदै आएका छन्। यस्तो अवस्थामा अहिले भने जनप्रतिनिधिबाटै कर्मचारीमाथि हिंसा भएको घटनाले बैंकिङ क्षेत्रलाई थप चिन्तित बनाएको हो।

कर्जा असुली प्रक्रियाअन्तर्गत धितो लिलामी गर्न स्थानीय तहको घरबाटो सिफारिस अनिवार्य हुने कानुनी व्यवस्था छ। तर, धेरै स्थानीय तहहरूले यस्तो सिफारिसमा अनावश्यक ढिलासुस्ती गर्ने वा सिधै असहयोग गर्ने प्रवृत्तिका कारण बैंकहरूको कर्जा असुली प्रक्रिया नै प्रभावित हुँदै आएको गुनासो बैंकरहरूले गर्दै आएका छन्।

जनकपुरको पछिल्लो घटनापछि नेपाल बैंकर्स संघको नेतृत्वमा डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहबाट कर्जा असुलीमा देखिएको असहयोग र हिंसाजन्य घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्।

संयुक्त विज्ञप्तिमा संघीय संरचना अनुसार बैंक र स्थानीय तहबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गरिएको छ। यस किसिमका समस्या समाधानका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै बैंकर्स संघहरूले स्थानीय प्रतिनिधिहरूको सहयोग र सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक पहलको माग गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*