९ लाख ५० हजारमै विद्युतीय गाडी, नेपाली बजारमा हिमालयन ईभीको र्‍यापटर सार्वजनिक

२६ असार २०८२, बिहीबार १७:०८

काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विद्युतीय गाडी भित्रिएको छ । हिमालयन ईभी प्रालिले एनयू ब्रान्डअन्तर्गतको र्‍यापटर नामक रेन्ज एक्सटेन्डर ईभी सार्वजनिक गर्दै यसको मूल्य ९ लाख ५० हजार रुपैयाँ तोकेको हो।

कम्पनीका कार्यकारी निर्देशक पेम साङबो शेर्पाले सस्तो मूल्यमा नयाँ मोडल उपलब्ध गराउनुको उद्देश्य सबै नेपाली उपभोक्ताले विद्युतीय सवारी चढ्न पाउन भन्ने रहेको बताए । उनका अनुसार यो कार चीनबाट आयात गरिएको हो । शेर्पाले भने, ‘यो अहिलेको अवस्थामा सबैले किन्न सक्ने मूल्यमा उपलब्ध छ । साथमा बीमामा विशेष छुट पनि दिइएको छ ।’

चार ढोका र चार सिट क्षमताको यो सानो साइजको कार विशेषगरी युवा पुस्तालाई लक्षित गरेर ल्याइएको कम्पनीको भनाइ छ । प्रारम्भिक अफरमा ग्राहकले १० हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट कुपन पाउने व्यवस्था गरिएको छ।

शानडोङ, चीनमा निर्मित यो सवारी साधनको लम्बाइ २ हजार ९ सय मिलिमिटर, चौडाइ १ हजार ३ सय ८० मिलिमिटर र उचाइ १ हजार ६ सय ५० मिलिमिटर छ । यसको ह्वीलबेस २ हजार मिलिमिटर र ग्राउन्ड क्लियरेन्स १ सय ६५ मिलिमिटर रहेकोले नेपाली सडकका लागि उपयुक्त मानिएको छ ।

यस कारमा १२ दशमलव ५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले १ सय न्यूटन मिटर टर्क उत्पादन गर्छ । यसमा ६ किलोवाट आवर क्षमताको एलएफ ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको चार्जमा १ सय २० किलोमिटर दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ । यो ब्याट्रीलाई पूर्ण चार्ज गर्न करिब ५ घण्टा लाग्नेछ ।

यो सवारीमा रहेको रेन्ज एक्सटेन्डर प्रविधिलाई यसको विशेषता मानिएको छ । ब्याट्री सकिएपछि गाडीमै जडित पेट्रोल इन्जिनले ब्याट्रीलाई चार्ज गर्छ । यसका लागि ५ लिटर क्षमताको पेट्रोल ट्याङ्की दिइएको छ ।

र्यापटरमा वातानुकूलन प्रणाली, चारै पाङ्ग्रामा डिस्क ब्रेक, स्वतन्त्र सस्पेन्सन, सेन्सरसहितको रिभर्स क्यामेरा, एलसीडी स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, घुमाउने गियर सेलेक्टर र दुई किसिमको ब्रेक लक प्रणालीजस्ता सुविधा उपलब्ध छन् ।

यसबाहेक, छतमा जडान गरिएको इलेक्ट्रिक भेन्टिलेसन फ्यान र पछाडिको भागमा रहेको अतिरिक्त पाङ्ग्राले कारको डिजाइनलाई थप आकर्षक बनाएको छ ।

कम्पनीले मोटरमा दुई वर्ष र ब्याट्रीमा तीन वर्ष वा ३० हजार किलोमिटर (जुन पहिला पूरा हुन्छ) को वारेन्टी दिएको छ । हिमालयन ईभीको शोरुम काठमाडौंको उत्तरढोकामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*