पुँजी बजारका लगानीकर्ता उत्साहित: ‘मौद्रिक नीतिले मार्केटमा थप बल पुग्यो, अब उचाई तिर लम्किन्छ’

काठमाडौँ । आज सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिपछि शेयर बजारका लगानीकर्ताहरू उत्साहित भएका छन् । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर विश्व पौडेलले प्रस्तुत गरेको नीतिले पूँजी बजारप्रति नरम तथा मैत्रीपूर्ण धारणा प्रस्तुत गरेको लगानीकर्ताहरूको प्रतिक्रिया आइरहेको हो ।
पुँजी बजारका लागि मौद्रिक नीति सकारात्मक नै आएको लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘लगानीकर्ताका लागि बजारले बल नै थपेको छ । शेयर धितो कर्जाको १५ करोड सीमा बढेर २५ करोड पुग्नु । लघुवित्तमा लगाइएको १५ प्रतिशत क्याप समेत सर्कुलर मार्फत परिमार्जन होला । समग्रमा बजार बढ्ने खालकै मौद्रिक नीति आएको छ । हामी उत्साहित छौं ।’
बैंक तथा वित्तीय संस्थालाई ठुला राहत भएको हुँदा पुरै अर्थतन्त्र चलयमान बनाउने गरी मौद्रिक नीति आएको छ । ‘बैंक तथा वित्तीय संस्थालाई दिएको राहतले पुँजी बजारमा पैसा आउँछ । लगानी वृद्धि हुन्छ । बैंकको कमाई हुन्छ’ रौनियारले भने ।
लगानीकर्ता तारा प्रसाद फुल्लेल पनि मौद्रिक नीतिलाई स्वागतयोग्य रुपमा व्याख्या गरेका छन् । नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा ल्याइनु सकारात्मक रहेको फुल्लेलको भनाई रहेको छ । अब बैंक तथा वित्तीय संस्थाहरूलाई सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने सम्भावना बढेको हुृँदा जसको प्रत्यक्ष लाभ शेयर बजारमा पर्ने उनको तर्कछ । साथै, स्थायी तरलता दर र निक्षेप संकलन दरमा गरिएको कटौतीले बजारमा तरलता थप सहज हुने देखिन्छ ।
शेयर बजारसँग प्रत्यक्ष सम्बन्धित अर्को महत्वपूर्ण व्यवस्था भनेको शेयर धितो कर्जाको सीमा को रहेको उनले भने । फु्ल्लेल भने‘व्यक्तिको हकमा सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पु¥याइएको छ । यसले ठूला तथा संस्थागत लगानीकर्तालाई थप कर्जा लिएर बजारमा सक्रिय हुन सहज बनाउनेछ । साथै, पहिलोपटक घर किन्नेलाई ३ करोड रुपैयाँसम्म कर्जा दिने र घर मूल्याङ्कनको ८० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्थाले सम्पूर्ण वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्नेछ, जसको अप्रत्यक्ष असर शेयर बजारमा पनि पर्नेछ ।’
त्यस्तै, विदेश यात्राका लागि व्यक्तिले लैजान पाउने डलर सीमा २ हजार ५०० बाट बढाएर ३ हजार पु¥याइएकोमा फुल्लेल सकारात्मक रहेको बताए । साथै, ३ करोड रुपैयाँसम्म प्रवाह भएको कर्जामा ब्याजदर अधिकतम २ प्रतिशत मात्र हुने व्यवस्था, स्टार्टअप, युवा उद्यमी र साना व्यवसायहरूका लागि निकै उपयोगी हुने उनको धारण छ ।
नव नियुक्त गभर्नरले मौद्रिक नीतिमार्फत शेयर बजारप्रति नरम नीति अपनाएको स्पष्ट संकेत दिएको फुल्लेलले बताए । नियमनलाई लचिलो बनाउने, आवश्यकता अनुसार राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने तथा परियोजना कर्जालाई स्वनियमनमा लैजाने प्रस्तावहरूले लगानीकर्तामा विश्वास थप बलियो बनाउने उल्लेख गरेका छन् ।
लगानीकर्ता शिवचन्द्रले मौद्रिक नीतिले शेयर बजारलाई प्रत्यक्ष सम्बोधन गरेको दुई मुख्य बुँदा औंल्याएका छ । व्यक्तिगत तर्फ शेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पु¥याइएको र लघुवित्तको १५ प्रतिशत लाभांशको अंकुशलाई आवश्यकता अनुसार परिमार्जन गरिने कुराले लगानीकर्ता उत्साहित भएको उनको भनाइ रहेको छ ।
उनी भन्छन्, ‘ गज्जबको कुरा चाहिँ विदेशमा जस्तै सम्पत्ती व्यवस्थापन कम्पनी खोल्न नीति तर्जुमा गरेर सम्बन्धित निकायमा पेश गरिने छ भन्ने लग्यो । यदि यसो भएको खण्डमा कम्पनीले बैंक तथा वित्तीय संस्थाका एनपिएल नै किनेर व्यवस्थापन गरीदिने छ। बैंकहरु खराब कर्जा मुक्त हुनेछन् ।’
शिवचन्द्र प्याकुरेलले थपे, ‘कसिएका धेरै नीतिहरूलाई बिस्तारै खुकुलो पार्दै गएको झल्को यो पटकको मौद्रिक नीतिले दिएको छ। समग्रमा आव २०८२/८३ को मौद्रिक नीतिलाई ग्रेड ‘ए’ दिन फरक नपर्ला।’
लगानीकर्ता अम्बिका प्रसाद पौडेल पनि मौद्रिक नीतिले अहिले सबैभन्दा अफ्ठ्यारोमा रहेका साना तथा मझौला उद्यमी र ऋणीहरूलाई सम्बोधन गरेको बताउँछन् । उनी भन्छन्, ‘आम लगानीकर्ता रहेको घर जग्गा र शेयर बजारमैत्री मौद्रिक नीति आएको छ। यसले मनोबल बढाउनेछ र अर्थतन्त्र चलायमान बनाउनेछ।’
यता, लगानीकर्ता तिलक कोइरालाको भनाइ छ, ‘मौद्रिक नीति सबैलाई भोलिदेखि नै काम गरूँ–गरूँ लाग्ने गरी एकदमै राम्रो, उत्कृष्ट खालको आएको छ। अब रमाई रमाई अगाडि बढौं।’
लगानीकर्ता रोहन कार्कीले मौद्रिक नीतिले लगानीकर्तामा उत्साह थपेको बताए । उनले भने, ‘बधाई छ लघुवित्तका लगानीकर्तालाई। १५ प्रतिशतको ब्याजदर र लाभांश दुबैको क्याप अब नरहने संकेत देखिएको छ। केन्द्रीय बैंकले अब १५ प्रतिशतको सीमा हटाएर सर्कुलर जारी गर्ने अपेक्षा गर्न सकिन्छ।’
मौद्रिक नीतिले सस्तो कर्जा, शेयर कर्जा सीमा विस्तार, लघुवित्त नियमनमा लचकता र सम्पत्ति व्यवस्थापन कम्पनीको प्रस्ताव जस्ता पहलमार्फत पूँजी बजारमैत्री वातावरण तयार पार्न खोजिएको देखिएको छ ।













