४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनालाई निर्माण अनुमति

काठमाडौं । कर्मचारी सञ्चय कोषको लगानीमा निर्माण हुन लागेको ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना सरकारले निर्माणका लागि स्वीकृति प्रदान गरेको छ। विद्युत विकास विभागले असार १५ गतेको निर्णयअनुसार आयोजनालाई निर्माण अनुमति दिएको हो।
आयोजनाले भारतीय कम्पनी ग्रान्धी मल्लीकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको अपर कर्णाली जलविद्युत आयोजनासँगको सिमाना विवाद टुंगिएपछि निर्माण अनुमति पाएको हो।
यो आयोजना विद्युत ऐन २०४९ को दफा ४ को उपदफा १, विद्युत नियमावली २०५० को नियम १७ र विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका २०७५ बमोजिम अगाडि बढाइएको हो।
बेतन कर्णाली आयोजनाको निर्माण कार्य सुर्खेत जिल्लाको चौकुने गाउँपालिका र अछाम जिल्लाको ढकारी गाउँपालिकाको सीमावर्ती क्षेत्रमा हुनेछ। परियोजनामा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको ४० प्रतिशत, कोषको संस्थागत लगानीबाट १५ प्रतिशत र बाँकी १०–१० प्रतिशत हिस्सा नेपाल विद्युत प्राधिकरण तथा आयोजनासँग सम्बन्धित विद्युत उत्पादन कम्पनीले लगानी गर्नेछन्।
बेतन कर्णाली जलविद्युत आयोजनालाई उत्पादन स्वीकृति दिइएपछि आयोजनाले अब वातावरणीय स्वीकृति, वित्तीय व्यवस्थापन र ठेक्का प्रक्रिया अघि बढाउने छ। यसले कर्णाली प्रदेशको ऊर्जा पूर्वाधारमा उल्लेख्य योगदान पुर्याउने अपेक्षा गरिएको छ।













